सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा कोशी प्रदेशले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा आयोजक कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै कोशीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएपछि दबाबमा रहेको कोशीले कर्णालीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको अर्धशतकीय पारीको मद्दतमा निर्धारित ओभरमा १२५ रन बनाएको थियो । रुविनाले ५७ बलमा एक छक्का र नौ चौकाको मद्दतमा सर्वाधिक ६२ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले १४, खुशी राजवंशीले १० र लकिता राजवंशीले नौ रनको योगदान दिइन् । विमला महला सात र फुलकुमारी राजवंशी छ रनमा अविजित रहे ।
कर्णालीका रमा बुढाथोकीले दुई तथा रविना बुढामगरले एक विकेट लिइन् । १२६ रनको लक्ष्य पछ्याएको घरेलु टोली कर्णाली ७६ रनमै समेटियो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् । सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन जोड्दा अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
कर्णालीको ब्याटिङ ध्वस्त पार्ने क्रममा कोशीकी लकिता राजवंशीले उत्कृष्ट बलिङ गरिन् । चार ओभरमा एक मेडन राख्दै पाँच रन मात्र खर्चिएकी उनले सर्वाधिक तीन विकेट लिइन् । उनी खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।
यस्तै निशा शाह र एलिशा खादियाले दुई–दुई तथा कप्तान रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए । यस जितसँगै कोशीले प्रतियोगितामा आफ्नो पहिलो सफलता हासिल गरेको छ ।







