सुर्खेत । शेरबहादुर देउवा पक्षको नेपाली काँग्रेसको नियमित महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको अधिवेशन मंसिर १३ र १४ गते तोकिएको छ । १५ औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको दोस्रो अधिवेशन हुन लागेको हो । अधिवेशनका लागि सबै तयारी पूरा भएको प्रदेश संयोजक रंगमति शाहीले जानकारी दिईन् ।

बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शाहीले अधिवेशनमा प्रदेशभरका दुई हजार बढी नेता तथा कार्यकर्ताको सहभागिता रहने जानकारी दिईन् । उनका अनुसार १ हजार २ सय जना महाधिवेशन प्रतिनिधि नै रहेका छन् ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु विशेष अतिथिका रुपमा सहभागी हुने उनले जानकारी दिईन् । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनमा सहभागी हुन देउवालगायत नेताहरु १२ गते नै सुर्खेत आउनेछन् । १३ गते उद्घाटन सत्र र १४ गते बन्द सत्र हुनेछ ।
देउवा कांग्रेसले कर्णाली प्रदेशका ८ वटा जिल्ला अधिवेशन गरिसकेको छ । बाँकी रहेका सुर्खेत र डोल्पामा भने शुक्रबार जिल्ला अधिवेशन हुनेछन् ।








