२०८३ मंसिर १० , बिहीबार

पशुपन्छी बीमामा किसानको आकर्षण, बाली बीमाको पहुँच भने कमजोर

कर्णालीमा १० जिल्लामध्ये चारमा मात्रै बाली बीमा, ६ जिल्लामा शून्य


सुर्खेत । कृषि तथा पशुपन्छी क्षेत्रमा हुने जोखिमबाट किसानलाई जोगाउने उद्देश्यले सरकारले बीमा प्रिमियममा अनुदान दिँदै आए पनि बाली बीमामा किसानको सहभागिता न्यून देखिएको छ । पशुपन्छी तथा मत्स्य बीमाको तुलनामा बाली बीमाको पहुँच निकै कमजोर रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडीबुटी बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षमा बालीतर्फ २८ हजार ९४६ र पशुपन्छी तथा मत्स्यतर्फ ६ लाख ७५ हजार ९१८ बीमालेख जारी भएका छन् ।

मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरिबहादुर केसीले प्रस्तुत गरेको विवरणअनुसार पाँच वर्षमा पशुपन्छी तथा मत्स्यतर्फ जारी भएका बीमालेखको संख्या बाली बीमाको तुलनामा २३ गुणाभन्दा बढी छ । यसले कृषि बीमाको अनुदान व्यवस्था भए पनि बाली बीमाको विस्तार अपेक्षित रूपमा हुन नसकेको देखाउँछ ।

पाँच वर्षको अवधिमा बाली बीमाको कुल बीमांक रकम सात अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बाली बीमाको प्रिमियम शुल्क एक अर्ब १२ करोड ६९ लाख रुपैयाँ रहेकोमा सरकारले ८३ करोड ५६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । कृषकले भने प्रिमियमबापत २२ करोड ६८ लाख रुपैयाँ तिरेका छन् ।

त्यस्तै, पशुपन्छी तथा मत्स्य बीमातर्फ कुल बीमांक रकम १६ अर्ब सात करोड ६४ लाख रुपैयाँभन्दा बढी पुगेको छ । यस अवधिमा सात अर्ब १८ करोड २२ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन भएकोमा सरकारले पाँच अर्ब ६७ करोड ४० लाख ६० हजार रुपैयाँ अनुदान दिएको छ । कृषकले एक अर्ब ५० करोड ८१ लाख २० हजार रुपैयाँ प्रिमियम तिरेका छन् ।

वर्षगत विवरणले पनि बाली बीमामा पछिल्ला वर्षमा गिरावट देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार २५४ बाली बीमालेख जारी भएकोमा २०७९/८० मा आठ हजार १७८ र २०८०/८१ मा नौ हजार ७३० पुगेका थिए । तर, २०८१/८२ मा घटेर एक हजार ६७७ र २०८२/८३ मा दुई हजार १०७ मा सीमित भएका छन् ।

पशुपन्छी तथा मत्स्य बीमामा भने सुरुवाती वर्षको तुलनामा पछिल्ला वर्षमा उल्लेख्य विस्तार भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २४ हजार २६६ बीमालेख जारी भएकोमा २०७९/८० मा एक लाख ८० हजार ७१५ पुगेको थियो । २०८०/८१ मा एक लाख ४६ हजार ३९४, २०८१/८२ मा एक लाख ६० हजार ३३२ र २०८२/८३ मा एक लाख ६४ हजार २११ बीमालेख जारी भएका छन् ।

दाबी भुक्तानीमा पनि दुई क्षेत्रबीच ठूलो अन्तर छ । पाँच वर्षमा बाली बीमातर्फ १८ हजार ६१२ बीमालेखको १७ करोड १६ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी भएको छ । पशुपन्छी तथा मत्स्य बीमातर्फ एक लाख २१ हजार ११२ बीमालेखको छ अर्ब एक करोड ९७ लाख ८० हजार रुपैयाँ भुक्तानी भएको मन्त्रालयको तथ्यांक छ ।

कर्णालीमा बाली बीमाको पहुँच अत्यन्त न्यून

कर्णाली प्रदेशमा बाली बीमाको अवस्था अझ कमजोर देखिएको छ । प्रदेशका १० जिल्लामध्ये आर्थिक वर्ष २०८२/८३ को चैतसम्म चार जिल्लामा मात्रै बाली बीमालेख जारी भएका छन् । बाँकी छ जिल्लामा एउटा पनि बाली बीमालेख जारी भएको छैन ।

सहसचिव केसीका अनुसार उक्त अवधिमा कर्णालीमा जम्मा १६ वटा बाली बीमालेख जारी भएका छन् । ती बीमालेखको कुल बीमांक रकम दुई करोड १० लाख ८२ हजार २५० रुपैयाँ छ । देशभर जारी भएका एक हजार ९७२ बाली बीमालेखमध्ये कर्णालीको हिस्सा ०.८१ प्रतिशत मात्रै हो । त्यस्तै, देशभरको कुल बीमांक रकम एक अर्ब ६८ करोड ९३ लाख ८७ हजार रुपैयाँमध्ये कर्णालीको हिस्सा १.२५ प्रतिशत रहेको छ ।

जिल्लागत रूपमा जाजरकोटमा नौ, सुर्खेतमा पाँच तथा कालिकोट र रुकुम पश्चिममा एक÷एक बाली बीमालेख जारी भएका छन् । बीमांक रकमका आधारमा कालिकोटमा ९९ लाख ४३ हजार, सुर्खेतमा ७२ लाख १५ हजार, रुकुम पश्चिममा २९ लाख ५५ हजार र जाजरकोटमा नौ लाख ६८ हजार रुपैयाँ रहेको छ । जुम्ला, हुम्ला, दैलेख, मुगु, डोल्पा र सल्यानमा भने बाली बीमाको पहुँच पुगेको छैन ।

राष्ट्रियस्तरमै बाली बीमाको पहुँच कमजोर रहेको मन्त्रालयको भनाइ छ । पछिल्लो पाँच वर्षमा कृषि बीमाअन्तर्गत सात लाखभन्दा बढी बीमालेख जारी भए पनि समग्र कृषि क्षेत्रमा किसानको सहभागिता करिब चार प्रतिशत मात्रै रहेको प्रस्तुतिमा उल्लेख छ । पशुपन्छी तथा मत्स्य बीमाको तुलनामा बाली बीमाको हिस्सा १० प्रतिशतभन्दा कम छ ।
महाशाखाका सहसचिव केसीका अनुसार पशुपन्छीको मृत्युलगायत क्षतिको मूल्यांकन र प्रमाणीकरण तुलनात्मक रूपमा सहज हुने भएकाले बीमा कम्पनीले पशुपन्छी बीमालाई प्राथमिकता दिने गरेका छन् । यसले बाली बीमाको विस्तारमा व्यावहारिक चुनौती रहेको संकेत गर्छ ।

कृषि बीमाको जिम्मेवारी प्रदेश सरकारलाई

सरकारले कृषि बीमाको प्रिमियम अनुदान व्यवस्थापनमा नयाँ व्यवस्था लागू गरेको छ । २०८३ भदौ १ गतेदेखि लागू भएको कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधिले अनुदान कार्यक्रम कार्यान्वयनको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । कार्यविधिअनुसार संघीय मन्त्रालयले सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेशमा बजेट उपलब्ध गराउनेछ भने सम्बन्धित प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गर्नेछ । विनियोजित बजेट अपुग भए प्रदेशले थप बजेटसमेत व्यवस्थापन गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ कार्यविधिमा अनुदान पाउने बीमालेखको सूचीसमेत विस्तार गरिएको छ । बालीतर्फ २५ प्रकारका, पशुपन्छी तथा अन्यतर्फ छ प्रकारका र जडीबुटीतर्फ टिमुर तथा मेन्थाका बीमालेख समावेश गरिएका छन् । बीमांक रकम एक करोड रुपैयाँसम्म भए प्रिमियममा ८० प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बीमांक रकममा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको सहसचिव केसीले जानकारी दिए ।

कार्यविधिले बीमालेख जारी गर्दा कृषि तथा पशुपन्छी बीमा प्रणालीको रियलटाइम सफ्टवेयर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । बीमा कम्पनीले प्रत्येक महिना समाप्त भएको सात दिनभित्र अनुदान भुक्तानीका लागि बीमालेखको विवरण नेपाल बीमा प्राधिकरणमा बुझाउनुपर्नेछ । प्राधिकरणले विवरण रुजु गरी प्रदेश मन्त्रालयमा सिफारिस गर्ने र प्रदेशबाट रकम निकासा भएपछि बीमकलाई अनुदान भुक्तानी गर्ने प्रक्रिया तोकिएको छ । एउटै प्रयोजनका लागि अर्को सरकारी निकायबाट दोहोरो अनुदान लिन नपाइने व्यवस्था पनि गरिएको छ ।

मन्त्रालयको प्रस्तुतिमा आर्थिक वर्ष २०८३/८४ का लागि बाली बीमा प्रिमियम अनुदानमा २० करोड ४० लाख रुपैयाँ र पशुपन्छी बीमाका लागि ९९ करोड २० लाख रुपैयाँ विनियोजन भएको उल्लेख छ । सातै प्रदेशका लागि जम्मा एक अर्ब एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

नयाँ कार्यविधिले प्रदेश सरकारलाई जिम्मेवारी दिएसँगै अब प्रदेशस्तरमा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, किसानसम्म सूचनाको पहुँच र बाली बीमाको विस्तारमा कस्तो प्रगति हुन्छ भन्ने चासो बढेको छ । विशेषगरी कर्णालीका बाली बीमा नपुगेका छ जिल्लामा कार्यक्रम विस्तार गर्नु चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बिहीबार