रेशम चौधरी पक्राउ प्रकरण : कर्मचारीले लेखेको फर्जी पत्रले लफडा, ४ घण्टा जेल बसेर छुटे

काठमाडौं

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ, कारागार चलान र ४ घण्टा नबित्दै रिहा भएको घटनाले बुधबार दिनभर सबैको ध्यान तान्यो ।
सीके राउत नेतृत्वको जनमत पार्टी  र रेशमको नाउपाबीच एकता घोषणा हुनुपूर्व कार्यक्रमस्थलबाटै पक्राउ गरिएको थियो ।

राष्ट्रपतिबाट आममाफी पाएका चौधरी फेरि किन पक्राउ परे ? शुरूमा अन्योलता छायो । प्रहरीसँग पनि दिने स्पष्ट जवाफ थिएन । यति मात्र भन्यो– ‘सर्वोच्चको पत्रका आधारमा फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।’
प्रज्ञा भवनमा एकता घोषणा सभा शुरू हुँदै गर्दा चौधरीलाई पक्राउ गर्न प्रहरी पुगेको
थियो । आधिकारिक निकाय प्रहरी र जेल प्रशासनले समेत सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाइबाट पत्र आएकाले चौधरीलाई पक्राउ गरिएको भनेर सञ्चारमाध्यमलाई प्रस्टीकरण दिए ।
डिल्लीबजार कारागारलाई सम्बोधन गरेर लेखिएको पत्रमा सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले हस्ताक्षर गरेका
थिए । विष्ट आफैं पत्र बोकेर पुगेपछि कारागारले सहजै स्वीकार गर्‍यो ।
अनि चौधरीलाई पक्राउका लागि प्रहरीको सहयोग माग्यो । चौधरीलाई पक्राउ गरेर सहयोग गरिदिन भन्दै पत्र जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो । कारागारका कर्मचारी पत्र लिएर परिसर पुगेका थिए ।
परिसर प्रमुख एसएसपी विश्व अधिकारीले कारागारको पत्रका बारेमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद तामाङलाई रिपोर्टिङ गरे । तामाङले ‘गो अ हेड’ भन्ने जवाफ दिए । एसएसपी अधिकारीले डीएसपी प्रह्लाद कार्कीको नेतृत्वमा एउटा टोली चौधरीलाई पक्राउ गर्न कमलादी पठाए ।
चौधरीलाई पक्राउ गरियो र गाडीमा राखेर डिल्लीबजार कारागार पठाइयो । कारागारले सहजै स्वीकारेर चौधरीलाई थुनामा राख्यो । उता नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको प्रतिक्रिया आउन थाले । अनि सरकार र अदालत प्रशासनले पत्रको अधिकारिकता बुझ्न थाले ।
आधिकारिकता बुझ्दा शाखा अधिकृत विष्टले आफैं मनपरी ढंगले पत्र लेखेर डिल्लीबजार कारागार पुगेको तथ्य खुल्यो । उनलाई उक्त पत्र लेख्ने निर्देशन कहीँ कतैबाट पनि नदिएको र यसबारे सर्वोच्च प्रशासन समेत बेखबर रहेको पाइयो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी तामाङले कारागारबाट आएको पत्रानुसार यसअघि पनि व्यक्तिहरूलाई पक्राउ गरेर बुझाइने गरेकाले चौधरीको हकमा पनि पत्र आएपछि प्रहरीले सहयोग गरेको बताए ।
‘चौधरीलाई पक्राउ गर्नुअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी अधिकारीले मलाई रिपोर्टिङ गरेका थिए,’ तामाङले लोकान्तरसँग भने, ‘कारागारबाट पत्रै आएको छ भने गो अ हेड भनिदिएको हो ।’


सर्वोच्च प्रशासनका एक उच्च अधिकृतका अनुसार डिल्लीबजार कारागारले सर्वोच्चबाट आएको पत्र भन्दैमा आधिकारिकता नबुझी अगाडि बढ्दा समस्या भएको बताए ।
‘पहिलो कुरा कारागारले पत्रको आधिकारिकता बुझ्नुपर्थ्यो, दोस्रो कुरा आममाफी पाइसकेका चौधरीलाई पक्राउ गर्नुअघि प्रहरीले पनि उपल्लो तहमा बुझ्नुपर्थ्यो,’ ती अधिकृतले भने, ‘चौधरी राजनीतिक तहमा भएको समझदारीका कारण आममाफी पाएको व्यक्ति भएकाले उनको पुनः गिरफ्तारीका लागि प्रहरीले राजनीतिक तहमा छलफल गर्नुपर्थ्यो ।’

सर्वोच्चको दोस्रो पत्रपछि छुटे रेशम
सर्वोच्चले पुरानो पत्र अनधिकृत रहेको जानकारी गराउँदै नयाँ पत्र लेखेपछि झण्डै ४ घण्टामा रेशम चौधरी रिहा भएका छन् ।
कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले सर्वोच्च अदालतको पत्रानुसार चौधरीलाई रिहा गरिएको बताए ।
रिहा भएर बाहिरिने क्रममा उनलाई समर्थकले फूलमाला र खादाले स्वागत गरेका थिए । उनलाई लिन नाउपा अध्यक्ष समेत रहेकी पत्नी रञ्जिता श्रेष्ठ पनि पुगेकी थिइन् ।

अनधिकृत पत्र लेख्ने विष्ट हिरासतमा
रेशमलाई पक्राउका लागि अनधिकृत पत्र लेख्ने विष्ट बुधबार नै पक्राउ परेका छन् ।
विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर सोधपुछ भइरहेको आचार्यले बताए । विष्टले व्यक्तिगत सनकका भरमा पत्र लेखेको पाइएको प्रहरीले जनाएको छ ।
पहिले पनि यस्तै लफडा
चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले विगतमा पनि यस्तै लफडा गरेको खुलेको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार एक जिल्ला अदालतमा तहसिलदारको रूपमा कार्यरत रहेका बेला एक कानून व्यवसायीसँग सामान्य भनाभन हुँदा कानून व्यवसायीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको पाइएको छ ।

उक्त प्रकरणमा उनी विवादमा परेका
थिए । ‘उहाँ एक जिल्ला अदालतमा तहसिलदार भएर जानुभएको बेलामा एकजना कानून व्यवसायीसँग सामान्य भनाभन हुँदा अदालतको लेटरहेड प्रयोग गरेर ती कानून व्यवसायीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गर्नुभएको थियो’, स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसैगरी कारबाहीका लागि नेपाल बार काउन्सिलमा पनि पत्राचार गर्नुभएको थियो ।’
विष्ट पहिलेदेखि नै सनकी जस्तो रहेको र हाकिमगिरी देखाउने गरेको उनले खुलाए ।
एकता भाँड्न षड्यन्त्र भयो– सीके राउत
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी एकता भाँड्नका लागि घोषणास्थलबाट रेशम चौधरीलाई पक्राउ गर्नु गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् ।
उनले यसलाई कर्मचारीको त्रुटिभन्दा पनि षड्यन्त्रको रूपमा लिएको बताए ।
‘रेशम चौधरीको पक्राउलाई एकता भाँड्ने प्रयत्न र ठूलो षडयन्त्रका रूपमा लिएका छौं । अहिले मिटिङ बसेर छलफल गर्छौं’, राउतले भने । पार्टी एकता छिट्टै हुने पनि उनले
बताए ।

अन्य समाचार

+ There are no comments

Add yours