सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिएको छ ।
सुर्खेतमा दुई स्थानमा बस्दै आएको यो समुदायले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएको छैन । राउटेको एक समूह बराहताल गाउँपालिका–९ को सोतखोला किनारमा र अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।
सोतखोला बस्तीका मुखिया सूर्यनारायण शाहीको बैशाख १५ गते निधन भएको
थियो । अहिले सो बस्ती रानो विनाको मौरीजस्तै छ । १९ घरको नेतृत्व कस्ले गर्ने भन्ने टुंगो लागेको छैन । बड्डीचौरबाट खोला किनारै किनार डेढ घण्टा हिँडेर पुगिने बस्तीमा एक महिनायता कुनै दाता आएका छैनन् । ‘भएको चामल मुखियाको किरियाकर्ममा सकियो,’ मृतक सूर्यनारायणका भाइ शेरबहादुरले भने, ‘भत्ता पनि आएको छैन, सहयोग गर्ने मानिसहरू पनि कोही आएका छैनन् ।’
शेरबहादुरले सरकारलाई चाँडोभन्दा चाँडो भत्ता उपलब्ध गराइदिन अनुरोध गरे । ‘हामीले बनाएका काठका सामानहरू विक्री हुँदैनन्, सरकारले भत्ता नदिएको चार महिना भयो,’ उनले भने, ‘हामीलाई छाक टार्न मुस्किल भइसक्यो ।’ राउटेलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले दिने गरेको
छ । हरेक तीन–तीन महिनामा भत्ता दिने गरेको गुराँसले चार महिना बित्दा पनि उपलब्ध गराएको छ ।
वीरेन्द्रनगरको सोतखोलामा बस्दै आएको राउटे समुदायका मुखिया वीरबहादुर शाहीले चामल नहुँदा सोतकोखामा बितेका मुखिया सूर्यनारायणको मृत्यु कर्म गर्न नपाएको
बताए । ‘१३ दिनसम्म प्रत्येक घरले सबैलाई बोलाएर खाना खुवाउने, चामलबाट घरेलु मदिरा बनाएर खाने चलन हुन्छ,’ उनले भने, ‘खाद्यान्न नहुँदा मृत्यु कर्म गर्न पाएका
छैनौँ ।’ करेखोला वीरेन्द्रनगर बजारदेखि नजिकै छ । यहाँ छाक टार्नका लागि सानोतिनो सहयोग जुटिरहेको छ, सोतखोलामा भने सहयोगीहरू कोही पुगेका छैनन् ।
मुखिया वीरबहादुर दुबै बस्तीमा खाद्यान्न संकट भएपनि सोतखोलाको बस्तीमा अझ ठूलो समस्या रहेको बताए । ‘त्यहाँ गाडी पनि जाँदैन, मानिस पनि जाँदैनन्,’ उनले भने, ‘कि भत्ता कि चामल मिलाइदिन पर्यो ।’
गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले यसै साता राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए । उनले पालिकाबाट संघ सरकारमा विवरण पठाउन ढिलाइ भएका कारण सामाजिक सुरक्षा भत्ता आउन ढिलो भएको बताए ।
‘पालिकाले राउटे समुदायको विवरण पठाएपछि तीन–तीन महिनामा भत्ता निकासा हुन्छ,’ उनले भने, ‘यो पटक विवरण पठाउन ढिलो भएकाले केही समस्या भएको
हो ।’ उनले दुई ठाउँमा छरिएर रहेका राउटे समुदायलाई आगामी साता बस्तीमै पुगेर तीन महिनाको भत्ता एकमुष्ट वितरण गरिने
बताए । राउटे समुदायको हालको जनसंख्या १३५ हो । ७५ जना महिला र ६० जना पुरुष राउटे
छन् ।
+ There are no comments
Add yours