२०८३ मंसिर ९ , बुधबार

चौकुनेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



दिलिप कंडेल चौकुने सुर्खेत । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडित संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मूल नाराका साथ चौकुने गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। २०८३ मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम चौकुने गाउँपालिकामा विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रम चौकुने गाउँपालिकाको आयोजनामा तथा शोसेक नेपाल, स्याक नेपाल, फेडो र अन्तरनिर्भर समाज सुर्खेतको समन्वयमा सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता खडक विवस वासपानेले गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा चौकुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत आशा बुढा मगरको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण केड सुर्खेतका कार्यक्रम संयोजक अनुप नेपालीले गर्नुभएको थियो। उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्य, महत्व, अभियानका कार्यक्रमहरू तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायहरूको भूमिकाबारे जानकारी गराउनुभएको थियो।

उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना अभिवृद्धि, पीडितको संरक्षण, हिंसामा परेका व्यक्तिहरूलाई न्यायमा पहुँच र सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रमका अध्यक्ष खडक विवस वासपानेले लैङ्गिक हिंसा समाजको साझा समस्या भएकाले यसको अन्त्यका लागि सबै व्यक्ति, परिवार, समुदाय, संघसंस्था तथा राज्यका निकाय एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले हिंसामुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माण गर्न सचेतना, पीडितमैत्री व्यवहार, प्रभावकारी संरक्षण तथा न्यायको सुनिश्चितता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, लैङ्गिक हिंसा विरुद्धको अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

अभियानले लैङ्गिक हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै हिंसा प्रभावित व्यक्तिहरूको संरक्षण, न्यायमा पहुँच र दण्डहीनताको अन्त्यका लागि स्थानीय स्तरमा साझा प्रतिबद्धता निर्माण गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले लैङ्गिक हिंसा अन्त्यका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार