सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधवार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अंक बाँडेका छन् । कोशी र बागमतीले समान दुई/दुई गोल गरी अंक बाँडेका हुन् ।

दुई गोलको अग्रता लिएको बागमती खेलको उत्तरार्धमा सम्हालिन नसक्दा दुई गोल खाई बराबरीमा चित्त बुझाएको छ । बागमतीका लागि दुवै गोल एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गर्नुभएको थियो । कोशीका तर्फबाट खेलको ७५ औं मिनेटमा मिलन राईले पेनाल्टीबाट गोल गर्नुभएको थियोभने ७८ औं मिनेटमा पदम भट्टराईले एक गोल थप्नुभएको थियो । खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट गोलका थुप्रै अवसर खेर गएको थियो ।
सो खेलमा कोशी प्रदेशका पदम भट्टराई र सविन घिमिरे तथा बागमती प्रदेशका संजीव अर्यालले पहेँलो कार्ड पाउनुभएको थियो । बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेश तथा अपरान्ह २ः३० बजे दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र मधेश प्रदेशविच हुनेछ ।







