गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले अपनाएको संयमताका कारण थप क्षति हुन नपाएको बताए । प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणपश्चात् मन्त्री अर्यालले तत्कालीन सरकारविरुद्धको आन्दोलनमा प्रहरीको संयमताले राज्य, नागरिक र निकायमा हुन सक्ने थप ठुलो क्षतिलाई न्यूनीकरण गरेको बताए ।
आफूले निर्वाह गरेको भूमिकामा प्रहरी सङ्गठनले कुनै पनि ग्लानि महसुस गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले प्रहरी सदैव जनताको मन, ढुकढुकीमा रहेको र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे । अत्यन्तै सीमित स्रोतसाधनको उपलब्धताका बिच नेपाल प्रहरीले आन्दोलनका क्रममा अत्यन्त संवेदनशील र संयमितता अपनाएको बताउँदै मन्त्री अर्यालले भने , “आन्दोलनका क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए सङ्कट अझै बढ्ने र राज्यले अझ ठुलो र अकल्पनीय क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो, तपाईंहरूको संयमता र सहनशीलताको म उच्च कदर र सम्मान गर्दछु ।”
उनले आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु रहेको बताउँदै स्थापनाकालदेखि नै प्रहरीले देशमा भएका विभिन्न द्वन्द्व, उतारचढाव, राजनीतिक परिवर्तन र सङ्क्रमणकालमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकाङ्क्षालाई केन्द्रविन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए । उनले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेनजीले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धिको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउनेमा नेपाल सरकार विश्वस्त रहेको बताए । मन्त्री अर्यालले प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा अत्यन्त ठुलो र नकारात्मक प्रभाव पार्ने बताउँदै समाजमा अराजकता मौलाउन नदिन सिङ्गो प्रहरी सङ्गठन कानुनबमोजिम कर्तव्य पालनाका क्रममा उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनुपर्ने बताए ।
आमजनतामा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी एकाइको पुनस्र्थापना, प्रहरी कर्मचारीको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको पनि उनले बताए । प्रहरीको सुदृढीकरण र प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सरकारले ठोस प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले प्रहरीप्रति राज्य र नागरिकका असीमित अपेक्षा रहेको पनि बताए । साथै उनले प्रहरीलेस्रोतसाधनको सीमितताबाट नागरिकका असीमित आकाङ्क्षा सम्बोधन गर्दै आइरहेको बताउँदै आगामी दिनमा साङ्गठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवं सबै प्रहरी कर्मचारीको पहलकदमी हुने पनि विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाल प्रहरीले आमजनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पूरा गर्दै आएको बताए । हालको स्थिति र आगामी दिनमा समेत उत्पन्न हुने सुरक्षा चुनौती एवं असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रविन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको पनि महानिरीक्षक खापुङले बताए ।
साथै उनले युवापुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थसिद्ध गर्न, राज्यका ऐतिहासिक धरोहर, महत्वपूर्ण प्रतिष्ठान, निजी तथा सार्वजनिक सम्पत्ति, व्यापारिक प्रतिष्ठानलगायतमा पु¥याइएको क्षतिमा संलग्नको पहिचान एवं अनुसन्धान गरी कानुनबमोजिम कारबाहीको दायरामा ल्याई आमनागरिकको मनमा कानुनी राज्य र कानुनको शासनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी सफल हुने छ भन्ने उनले विश्वास व्यक्त गरे ।

Leave a Reply