हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतवार अन्तिम भिडन्त हुँदैछ। आजको खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्।

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

कोलकोत्ताले पहिलो क्वालिफायरमा हैदरावादलाई पराजित गरेर फाइलनमा स्थान बनाएको हो भने हैदरावादले अर्को मौकामा राजस्थान रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

आजको खेलमा हैदरावादसँग इतिहास रच्ने सुनौलो अवसर छ भने कोलकोत्तासँग तेस्रोपटक उपाधि उचाल्ने मौका रहेको छ।

हालसम्म आईपीएलको इतिहासमा पहिलो क्वालिफायरमा पराजित भएको टोलीले दोस्रो मौकामा उपाधि उचालेको एक टिम मात्रै छ। हैदरावादसँग पनि आइतवारको खेलमा सोहि इतिहास दोहोर्याउने अवसर रहेको छ। यसअघि दोस्रो मौकामा मुम्बई इनिडयन्सले उपाधि उचालिसकेको छ।

सन् २०१३ र २०१७ मा क्वालिफायर १ मा पराजित भएर दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा उपाधि उचालेको थियो। मुम्बई बाहेक अब हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका रहेको छ। साथै पहिलो क्वालिफायरमा कोलकोत्तासँग भोग्नुपरेको पराजयको बदला लिने पनि मौका हैदरावादसँग रहेको छ।

तर, त्यसबाहेक आइतवारको उपाधि खेलमा वर्षाको पनि असर देखिन सकिने अनुमान गरिएको छ। हालसम्म जारी सिजनमा ३ वटा खेल वर्षाका कारण रद्द भइसकेको छ। यस्तोमा यदि फाइनल खेलमा पनि वर्षा बाधक बन्यो भने कसले उपाधि जित्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ।

फाइनल खेल यदि वर्षाका कारण प्रभावित भयो र खेल कम्तिमा ५÷५ ओभरमा पनि खेलिएन भने रिजर्भ डेमा जानेछ। अर्थात् भोलि हुनेछ। गत वर्ष पनि फाइनल खेल रिजर्भ डेमा भएको थियो। रिजर्भ डेमा खेल त्यहिबाट सुरु हुन्छ जहाँ आज रोकिएको हुन्छ। रिजर्भ डेमा पनि यदि वर्षा बाधक बनयो र नियमित ५÷५ ओभरमा खेल हुन सकेन भने सुपर ओभरबाट खेलको नतिजा निकालिने छ।

यदि सुपर ओभर पनि हुन सकेन भने अङ्क तालिकाको आधारमा विजेता घोषणा गरिने छ। वर्तमान अवस्थामा कोलकोत्ता अङ्क तालिकाको शिर्ष स्थानमा रहेको र हैदरावाद दोस्रो स्थानमा रहेको छ। त्यसकारण १७ औँ संस्करणको आईपीएलको उपाधि विजेता कोलकोत्तालाई घोषित गरिने छ।

आजको खेलमा कोलकोत्ताका सुनिल नरेन, कप्तान श्रेयस अय्यर, आन्द्रे रसेल, मिचेल स्टार्क र वरुण चक्रवर्तीमाथि विशेष नजर रहने छ भने हैदरावादका कप्तान कमिन्स, टी नारायणन्, टेविस हेड, अभिशेष शर्मा, भुवनेश्वर कुमार लगायतमाथि विशेष नजर रहने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *