मोरङको कटहरीमा नाबालिका र लेटाङमा एक जना पुरुषको डुबेर मृत्यु भएको छ।
कटहरीमा रहेको सुखानी खोलामा नाबालिकाको शव फेला परेको हो। आइतबार घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका–५ का धर्म झाँगडकी ८ वर्षीय छोरी प्रीति झाँगड सोमबार मृत अवस्था फेला परेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनी आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेकी थिइन्। घरपरिवार कसैलाई केही नभई हिँडेकी प्रीतिको खोजी गर्दै जाँदा सोमबार दिउँसो खोलामा मृत अवस्था शव फेला परेको हो।
‘घर नजिकै रहेको उक्त खोलामा उनी नुहाउन (पौडी खेल्न) जाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ डिएसपी बस्नेतले भने।
प्रीति नियमित जस्तो खोलामा पौडी खेल्न जाने गरेको हुँदा आइतबार पनि पौडी खेल्नकै लागि खोला गएको हुनसक्ने प्रहरीको अनुमान छ।
खोलाको डिलमा बालिकाको कपडा भेटिएको बताउँदै डिएसपी बस्नेतले भने, ‘पौडी खेल्ने क्रममा केही समस्या भएर मृत्यु भएको हुन सक्ने सम्भावना रहेको छ। शवलाई पोस्टमार्टका लागि पठाइएको छ। तत्काल हेर्दा घटना शङ्कास्पद नदेखिए पनि विभिन्न तवरबाट घटनाको थप अनुसन्धान अघि बढाइसकेका छौं।’
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि थप कुरा बाहिरिने प्रहरीले जनाएको छ।
त्यसैगरी, लेटाङ नगरपालिका–२ स्थित गारापानी सामुदायिक वनभित्र रहेको राजा–रानी पोखरीमा डुबेर मोरङको केराबारी गाउँपालिका–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्र पोखरी बनाएका थिए। त्यही पोखरीमा डुबेर लिम्बूको मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए।
‘जङ्गली जनावरलाई पानी पिउन सहजताका लागि अन्दाजी ४० फिट लम्बाइ, ३० फिट चौडाइ र १२/१५ फिट गहिराइको पोखरी बनाएको रहेछ। पत्नी विष्णुमाया लिम्बूसँगै रहेका भक्तबहादुर नुहाउन भनी कपडा खोलेर आइतबार साँझ पौने ६ बजेतिर पोखरीमा पसेको खुलेको छ।’ उनले भने।
पोखरीभित्र पसेका लिम्बू लामो समयसम्म ननिस्किएपछि श्रीमतीले स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्। खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको बताउँदै डिएसपी बस्नेतले भने, ‘उनको खोजीका लागि नेपाल र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोली परिचालन गरिएको थियो। गोताखोर टोलीले राति ९ बजेतिर लिम्बूको शव फेला पारेर पोखरी बाहिर निकाल्यो। उनको टाउलगायत शरीरका विभिन्न भागमा चोटपटक र अनुहार रक्ताम्य रहेको अवस्थामा फेला परेको शव फेला परेको थियो।’
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ भने घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Leave a Reply