रौतहटको गढीमाई नगरपालिका कार्यालयबाट अनुगमन समितिले नदीको ठेक्का पट्टासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ।
नगरपालिकाले अवैध रुपमा बागमती नदीको गिट्टी, बालुवा, ग्राभेल, ढुङ्गालाई ठेक्कामा दिएको भन्ने गुनासो बढेपछि स्थलगत अनुगमन गर्दै अनुगमन समितिले सोमबार कागजपत्र नियन्त्रणमा लिएको हो।
गत हप्ता बागमती नदीमा बाँध बाँधेर पाँच ओटा एक्स्काभेटर प्रयोग गरी उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक्स्काभेटर र टिपर नियन्त्रणमा लिएर कारबाहीको लागि नगरपालिकामा बुझाएको थियो।
नगरपालिकामा बुझाइएको एक घण्टा नबित्दै नगरपालिकाले पुन: एक्स्काभेटर र टिपर सम्बन्धित धनीलाई नै बुझाएको थियो।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवको मिलेमतोमा हरेक दिन अढाई सयदेखि चार सय टिपर नदीजन्य पदार्थ बागमती नदीबाट उत्खनन हुँदै आएको थियो।
अनुगमन समितिले चेतावनी दिँदा पनि ‘नटेर्ने’ गढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई कारबाहीका लागि सिफारिस समेत गरियाे। तरपनि उनीहरूले कानुनलाई ठाडो चुनौती दिँदै अवैध उत्खनन कार्य जारी राख्दै आएका थिए।
अनुगमन समितिले सोमबार बागमती नदीको स्थलगत अनुगमन पनि गरेको थियाे। जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन भइरहेको फेला परेपछि नगरपालिकाको कार्यालय पुगेर समितिले कागजपत्र नियन्त्रणमा लिएको हो।
अनुगमन समिति पुग्नासाथ बागमती नदीमा भागाभाग मच्चिएको थियो। समितिले निर्देशन दिएपछि सोमबारदेखि नै नदीको उत्खनन पनि रोकिएको छ।
बागमती नदीको उत्खनन सम्बन्धमा ठेक्कापट्टाको कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
बागमती नदीको सबै मापदण्ड मिचेर अवैध रुपमा जथाभाबी दोहन गरिएकोले वातावरणमा नकारात्मक प्रभाव पर्ने गरेको छ।
बागमती नदीको समनपुरमा बनाइएको पुलको छेवैबाट उत्खनन गरी तटबन्ध सँगसँगै व्यापक मात्रामा अवैध रुपमा गिट्टी र ढुंगा भण्डारण गरिएको छ।
उत्खनन र भण्डारणमा केही जनप्रतिनिधिको पनि संलग्नता रहेको छ। अवैध रुपमा भण्डारण गरिएको गिट्टी र बालुवाको पनि जाँच हुनुपर्ने स्थानीयले माग गरेका छन्।

Leave a Reply