
उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिएका
छन् । विगतका राजनीतिक आन्दोलनहरु भएपनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको भन्दै उनले अहिलेको यो घटनामा निश्पक्ष छानविन हुनुपर्ने बताए ।
‘अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ, अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।’ आयोगका सदस्य भण्डारीसँगको भेटमा मुख्यमन्त्री कँडेलले भने । अपराधजन्य कार्यमा संलग्न कोहीलाई पनि कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए । जाँचबुझ आयोग र प्रहरी प्रशासनले निश्पक्ष अनुसन्धान गरी संलग्न सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सुझाव दिए ।
मुख्यमन्त्रीसँगको भेटका क्रममा जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई आपराधिक गतिविधिकै रुपमा आयोगले अध्ययन गर्ने बताए । व्याक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरालाई राजनीतिक रुपमा हेर्नु गलत हुने उनले बताए । यसैक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी प्राप्त भएका प्रमाणहरु सङ्कलन गरिएको जानकारी दिए । प्रहरी घटनामा संलग्न व्यक्तिहरुको पहिचानको अन्तिम चरणमा पुगेको उनले बताए ।




+ There are no comments
Add yours