
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनपछि सिर्जना भएको विषम परिस्थितीमा संविधानले नचिन्ने सरकार स्वीकार्नु परेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले देशलाई थप बर्बादीको बाटोमा जान नदिन विघटित प्रतिनिधिसभा पुनसर््थापित हुनुपर्ने धारणा राखे ।
जेन–जी समूहले उठाएका भ्रष्टाचार र सुशासनका सवाल सबैका साझा मुद्दा रहेको बताउँदै उनले २४ भदौको १ बजेपछिका विध्वंशसलाई एमालेले कदापी स्वीकार्न नसक्ने उनले दावी गरे । कँडेलले देशलाई वर्तमान संक्रमणकालीन अवस्थाबाट बाहिर ल्याउन संविधानको रक्षा गर्नु अपरिहार्य रहेको बताए ।
आन्दोलनमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी, लुटपाट र तोडफोड गर्नेहरुलाई अहिलेको सरकारले संरक्षण गरिरहेको उनको आरोप छ । लोकतन्त्र चाहने पक्षधरलाई उनले जनताका अधिकार खोस्ने, कुण्ठित गर्ने सरकारको विरोध जनाउनुपर्ने उनले औंल्याए । जनलाई जगाउने र संगठन गर्ने दल भनेकै एमाले रहेको उनको दावी थियो । ‘यो कुनै सत्ता र कुर्सीको लडाइ होइन, हामी जनताप्रति जवाफदेही छौं,’ उनले भने, ‘जनताका अधिकार खोसिने र कुण्ठित पारिने कदमका विरुद्धमा एमाले छ, जनताको लामो त्याग र बलिदानपश्चात बनेको संविधान रक्षा एमालेको बटम लाईन हो ।’
संविधानको रक्षा भएमात्रै लोकतन्त्र संस्थागत हुने भन्दै उनले केही राजनीतिकर्मीको गल्तिलाई देखाएर सिंगो व्यवस्थाप्रति प्रश्न उठाउनेहरुबाट समयमै सचत रहनुपर्ने कँडेलले बताए । अहिलकै अवस्थामा आगामी फागुनमा चुनाव हुन नसक्ने बताउँदै निर्वाचनको वातावरण बनाउनतर्फ सरकारले ध्यान दिन नसकेको उनले टिप्पणी गरे ।
Leave a Reply