दैलेखको भगवतीमाई गाउँपालिका–६ की खगिसरा बुढाले सञ्चालन गरेको ‘सान्ताको अचार’ पसल गएको आइतबार बिहान जलेर खरानी भएको थियो । उनले पसल सुरु गरेको दुई दिनमै जलेको थियो । खगिसराले १५ लाखको अचार लगायतका सामान र एक लाख रुपैयाँ पसल सजावटमा लगाएको लगानी दुई दिनमै खरानी भएको थियो । उक्त पसल पूर्वसभासद सान्ता चौधरीको उद्योगको अचारको आउटलेटका रुपमा थियो । नेपालमा चर्चित उक्त ब्राण्ड बेचेर व्यावसायिक सफलताको सपना देखेर पसल सुरु गरेकी खगिसरा दुई दिनभित्रै असफल हुन पुगिन् । कात्तिक ११ गते पसल सुरु गरेकी खगिसराले आगलागी हुनुको दुई दिनअघि २८ गते मात्र उद्घाटन गरेकी थिईन् । पसलको उद्घाटन गर्न पूर्वसभासद चौधरी आफैं सुर्खेत आएकी थिईन् ।
तत्काल उक्त पसलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको थियो । पीडितको निवेदनका आधारमा खोजी गर्दै जाँदा उक्त पसलमा अर्कैले आगो लगाइदिएको खुलेको छ । खगिसराको पसलको छेउमै भएको नवदुर्गा बेवी सप सञ्चालक जुना कुमारी बोहराका देवर दीपक कँडेलले आगो लगाएको खुलेको छ । कँडेलले दाजुसँगको रिसिईवीले भाउजुको पसलमा आगो लगाएका थिए । आगो लगाएपछि खगिसरा र जुनाका दुवै पसल जलेर खरानी भएका छन् ।
आरोपित दीपकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति वीरेन्द्रनगरस्थित यरीचोकबाट फक्राउ गरेको छ । घटना घटाएको मितिदेखि नै फरार रहेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । दीपकले पारिवारिक विषयलाई लिएर पसलमा आगो लगाएको खुलेको उनले बताए । ‘पारिवारिक झगडा र अंशवन्डाको विवादका कारण देवरले नै भाउजुको पसलमा पेट्रोल छर्केर आगो लगाएको देखिएको छ, घटनामा संलग्नलाई पक्राउ गरिएको छ ।’ डिएसपी बुढथापाले भने ।
सुरुमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिए पनि अनुसन्धानबाट यो नियोजित आगजनी भएको देखिएको उनले बताए । प्रहरीको नियन्त्रणमा रहेको दीपकले पहिले पनि घरमा झगडा हुँदा आगो लगाईदिने धम्की दिने गरेको परिवारका सदस्यको भनाई उद्दृत गर्दै डिएसपी बुढथापाले बताए । पसलमा आगो लगाएकै दिने उनले वीरेन्द्रनगर–८ कालिञ्चोकमा रहेको आफू बस्ने घरमा पनि आगो लगाएका थिए । त्यसपछि वीरेन्द्रनगर–६ सनिहल लाईनस्थित सुपरमार्केटको १ नम्बर सर्टरमा रहेको भाउजुले सञ्चालन गर्ने बेवी सपमा आगो लगाएका थिए । सान्ताको अचार पसल २ नम्बर सर्टरमा थियो ।
‘राति ३ बजे घरमा आगो लगाएको रहेछ, त्यसपछि ४ बजे आफ्नो जेठो दाईको पसलमा पुगेर आगो लगाएको देखियो,’ डिएसपी बुढथापाले भने, ‘घरमा आगो लगाईसकेपछि एउटा कागजमा नोट लेखेर छोडेको छ, त्यसमा अझ पनि यही घरमा बस्यो भने जलाएर मार्छु भनेर भाडावाला र परिवारलाई धम्की दिईएको छ ।’ कँडेलको परिवार बस्ने कालिञ्चोकको घरमा कर्णाली क्रिकेट एकेडेमी थियो । उनले आगो लगाउँदा क्रिकेट एकेडेमीमा भएका ५० हजार बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएका छन् ।
डिएसपी बुढथापाका अनुसार दीपकका दुई भाई छन् । उनीभन्दा अगाडि दाई छन् । उनलाई अंशवण्डामा चित्त नबुझेपनि घर र पसलमा आगलागी गरेको बुढथापाले बताए । आगलागीपछि लेखिएको नोटमा ‘कसैलाई उक्त घरमा नबस्न र घर आफ्नो भागमा हुनुपर्ने’ मनशाय उल्लेख छ ।
दीपक लागुऔषध सेवनकर्ता रहेको डिएसपी बुढथापाले बताए । यसले उनको मानसिक अवस्था पनि सन्तुलनमा नभएको देखिएको उनले बताए । ‘हाम्रो क्रिमिनल रेकर्ड सिनोप्सिस (सीआरएस) मा पनि लागुऔषध मुद्दामा पक्राउ परेको देखिन्छ, लागुऔषध सेवनका कारण उनी मानसिक रुपमा पनि त्यति ठीक देखिँदैनन् ।’ उनले भने ।
दीपकले पसलमा आगो लगाईसकेपछि वीरेन्द्रनगर नगरपालिकाको दमकलका चालकले बिहान करिब ३ बजे गणेशचोकतिर पानी भर्न जाँदै गर्दा बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरेपछि दमकल र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पसल जलेपछि खगिसरा बुढाले प्रहरीमा निवेदन दिएकी थिईन् । निवेदनका आधारमा तीन दिनसम्म खोजी गर्दा बल्ल उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
नियन्त्रणमा लिईसकेपछि दीपक आफैंले घर र भाउजुको पसलमा आगो लगाएको स्वीकारेको डिएसपी बुढथापाले बताए । ‘पाउनु पर्ने अंश पाइन, त्यति बराबरको उनीहरुको नोक्सान होस् भनेर आगो लगाइदिएको हुँ,’ उनको बयान उद्दृत गर्दै बुढथापाले भने । आगजनी बाट दुई पसलमा कति क्षति भयो भन्ने विवरण संकलन भईरहेको छ ।

अर्कैले सल्काएको आगोले जलेको थियो ‘सान्ताको अचार’ पसल





+ There are no comments
Add yours