एनपीएलबाट बाहिरिने संघारमा कर्णाली

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाज प्लेअफ नजिक पुगेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डुले चौथो जित निकाल्यो । अन्तिम खेलअघि ८ अंक जोडेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजय भोगे पनि अरु टोलीको नतिजाको आधारमा काठमान्डु शीर्ष चारमा रहेर प्लेअफमा पुग्नसक्छ । अब काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र पछि पार्न सक्छ ।
यता कर्णाली भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा प्लेअफमा पुग्नसक्छ । त्यसका लागि अरु टोलीको नतिजामा भर पर्नु पर्छ ।
चौथो जित निकाल्ने क्रममा काठमान्डुले आइतबार कर्णालीले दिएको १५० रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंका ओपनिङ ब्याटर आकाश त्रिपाठी ८ रनमा आउट भए पनि अर्का ओपनर बने चाल्र्सवर्थले ३४ रनको योगादन गरे । उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कर्णालीका कप्तान सोमपाल कामीविरुद्ध उनले एकै ओभरमा तीन छक्कासहित २० रन जोडेर आक्रामक सुरूवात दिलाएका थिए । तर उनी आठौं ओभरमा पवन सर्राफबाट बोल्ड हुन पुगे । त्यसपछि मिलिन्द कुमार ११औं ओभरमा रनआउट हुन पुगे । गेराल्ड इरासमसँग रन लिने विषयमा असझदारी हुँदा उनी १५ रन बनाएर पेभिलियन फर्किए ।
इरासमस र जोन सिमसनको जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै काठमान्डुलाई जित दिलाए । जितका लागि एक रन चाहिएको स्थितिमा सिमसन ४१ रनमा आउट भए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा रशिद खान पनि क्याच भए । इरासमसले ३३ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रन प्रहार गरे । बलिङमा कर्णालीका नन्दन यादवले ३ विकेट लिए । उनले चार ओभरमा ३५ रन दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन जोडे । गुल्सनले ६ चौका र ३ छक्का प्रहार गरे । कर्णालीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एन्ड बउल्ड भए हुँदा रोयल डक भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै दुई विकेट गुमायो ।
त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे । वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत रनआउटको सिकार बने । उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबिडब्लूको धरापमा परे । नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के ।
कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए । १९औं ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए । बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन दिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *