मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि कांग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ ।

कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो ।अघिल्लो परिपत्रमा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो ।

यस्तै राष्ट्रियसभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनेछ’ उल्लेख गरिएको थियो । तर, कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू केन्द्रले निर्धारण गरेको मापदण्डविपरीत उम्मेदवारहरू सिफारिस गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *