२०८३ असार ३१ , बुधबार

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा



प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ। सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री दाहालका साथमा उनको स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार