२०८३ कात्तिक १० , मंगलबार

खल्तीको प्रतिनिधि बनेर ठगी गरेको आरोपमा चार जना पक्राउ



काठमाडौं। डिजिटल वालेट सेवा ‘खल्ती’का कर्मचारी भएको भन्दै सर्वसाधारणलाई झुक्याएर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आफू खल्तीको कर्मचारी भएको परिचय दिँदै विभिन्न सेवा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए। उनीहरूले वालेटको केवाईसी अद्यावधिक नगरे खाता बन्द हुने भन्दै डर देखाउने, बैंक खाता वालेटमा जोडिदिने, व्यावसायिक खातामा रकम प्राप्त हुँदा जानकारी दिने ई–स्पिकर उपलब्ध गराउने तथा रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने बनाइदिने जस्ता आश्वासन दिने गरेको प्रहरीको भनाइ छ।

यसरी फोन तथा ह्वाट्सएपमार्फत अडियो र भिडियो कल गरेर सम्पर्क गर्ने उनीहरूले पीडितलाई स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोडसमेत प्राप्त गर्ने गरेको प्रहरीले जनाएको छ। त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम ठगी गर्ने गरेको आरोप उनीहरूमाथि छ। प्रहरीले सर्वसाधारणलाई डिजिटल वालेट वा बैंकका कर्मचारी भन्दै फोन गर्ने अपरिचित व्यक्तिको विश्वासमा नपर्न आग्रह गरेको छ। साथै, कसैलाई पनि ओटीपी कोड उपलब्ध नगराउन र अपरिचित व्यक्तिको निर्देशनमा स्क्रिन सेयर नगर्न सतर्क रहनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार