काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता तथा कार्यकर्तालाई आफ्नो कार्यशैली र सोच परिवर्तन गर्न आग्रह गरेका छन्। उनले नेताहरू विमानस्थलमा आउँदा खादामाला लिएर स्वागत गर्न जाने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन्।
बिपी स्मृति पुस्तकालय पोखराले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले नेताको स्वागतका नाममा विमानस्थलमा भीड जम्मा गर्ने र तामझाम देखाउने प्रवृत्तिले आम नागरिकमा नकारात्मक सन्देश जाने बताए। ‘नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ उनले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि १’
पोखरा विमानस्थलमा आफू पुग्दाको प्रसंग उल्लेख गर्दै थापाले नेताको सवारीका क्रममा सडकमा गाडीको लाम देखिएको बताए। एक वृद्धले सडकमा गाडी गनिरहेको घटना स्मरण गर्दै उनले यस्ता सामान्य देखिने व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखे। ‘हामी आमनागरिक हौं। आमनागरिकको कुरा हामीले सुन्न पाउनुपर्छ। बाटोमा पनि मानिसहरूसँग कुरा गर्दै हिँड्न पाइयोस्,’ उनले भने। नेताका नाममा सर्वसाधारणलाई टाढा राख्ने र भेट्न आउने कार्यकर्तालाई समेत धकेल्ने प्रवृत्ति बदल्नुपर्ने उनको भनाइ थियो।
सभापति थापाले आगामी मंसिर महिनाभर पार्टी अभियान सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेका छन्। विगतमा कांग्रेसमा आबद्ध रहेका तर पछिल्लो समय अन्य दललाई मतदान गरेका नागरिकसँग संवाद गरेर उनीहरूलाई पुनः पार्टीसँग जोड्ने तयारी भइरहेको उनले बताए त्यसैगरी, केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित गाउँगाउँमा खटाइने उनले जानकारी दिए। पार्टीका नेता तथा उम्मेदवार केन्द्रमा सीमित नभई स्थानीय तहसम्म पुगेर जनतासँग जोडिनुपर्ने उनको भनाइ थियो।
आगामी निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई समेत विकेन्द्रीकरण गरिने थापाले बताए। जुन तहको निर्वाचन हो, उम्मेदवार चयन गर्ने जिम्मेवारी पनि सोही तहका पार्टी सदस्यलाई दिइने उनले स्पष्ट पारे। थापाले १५औँ महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। कांग्रेसको संगठनलाई जनतासँग नजिक बनाउने, नेतामुखी संस्कार अन्त्य गर्ने र पार्टीभित्र जिम्मेवारी तथा सहभागिता बढाउने उद्देश्यसहित आफू अघि बढेको उनको भनाइ छ।








