काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै जोखिमयुक्त क्षेत्रमा भने सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार बंगालको खाडीबाट पर्याप्त जलवाष्प बोकेर आउने मौसमी प्रणाली र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीबीच अन्तरक्रिया हुँदा नेपालमा वर्षा हुन सक्छ। प्रारम्भिक अनुमानअनुसार बिहीबार साँझदेखि शनिबारसम्म यसको प्रभाव देखिन सक्नेछ।
यद्यपि, उक्त प्रणाली अहिले बंगालको खाडीमै रहेकाले यसको गति, दिशा र तीव्रतामा आउने परिवर्तनले नेपालमा पर्ने प्रभावसमेत फरक पार्न सक्ने पोखरेलले बताउनुभयो। पछिल्लो अनुमानमा वर्षाको तीव्रता केही कम हुने देखिए पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ।
उच्च हिमाली क्षेत्रमा भने हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो। हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च क्षेत्रमा यात्रा नगर्न सुझाव दिइएको छ। पहिरोको जोखिम भएका सडक तथा क्षेत्रमा आवतजावत गर्दा पनि मौसम र सडकको अवस्थालाई ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न आग्रह गरिएको छ। मौसमको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले आधिकारिक सूचना र अद्यावधिक पूर्वानुमानका आधारमा कृषि तथा अन्य गतिविधि तय गर्नु उपयुक्त हुने मौसमविद्को सुझाव छ। पोखरेलका अनुसार नेपाल नजिक आइपुग्दासम्म मौसमी प्रणाली कमजोर भए वर्षाको प्रभाव कम हुन सक्छ। तर प्रणाली अपेक्षाकृत शक्तिशाली रहेमा वर्षाको मात्रा र प्रभाव बढ्न पनि सक्छ। त्यसैले यसको दिशा, गति र अवस्थालाई निरन्तर निगरानी गर्नु आवश्यक छ।
मनसुन सकिएपछि पनि नेपालमा वर्षा हुनु असामान्य घटना नभएको मौसमविद् पोखरेलले स्पष्ट पार्नुभयो। अक्टोबर र नोभेम्बरमा सामान्यतः मौसम सफा रहने भए पनि यही समयमा बंगालको खाडी र अरब सागरमा चक्रवात तथा न्यून चापीय प्रणाली विकसित हुने सम्भावना रहन्छ।समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म आइपुग्दैनन्। तर केही प्रणाली उत्तर वा उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आएमा वर्षा गराउन सक्छन्। यस्ता प्रणालीका कारण उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने उहाँले बताउनुभयो।
यस किसिमका मौसमी घटना विगतमा पनि देखिएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनले यस्ता घटनाको आवृत्ति र तीव्रतामा प्रभाव पार्न सक्ने बताउनुभयो। त्यसैले यस्ता प्रणालीको नियमित अध्ययन र निगरानी आवश्यक रहेको उहाँको भनाइ छ। मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारणलाई मौसम विज्ञान विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालमार्फत जारी गरिने अद्यावधिक विवरणमा भर पर्न आग्रह गरिएको छ। अपुष्ट हल्लाका कारण त्रासमा नबस्न र जोखिमलाई बेवास्ता पनि नगर्न मौसमविद्ले सुझाव दिनुभएको छ।
वर्षाको सम्भावनालाई सामान्य रूपमा लिएर लापरबाही गर्नुको सट्टा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउने र आधिकारिक पूर्वानुमानका आधारमा आफ्नो योजना बनाउने उहाँको आग्रह छ।








