सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो सवारी चाप र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चारवटा प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ।
सडक विभागले लाइट जडानको काम सम्पन्न गरिसकेको र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउने जनाएको छ। सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर राकेश महर्जनका अनुसार पहिलो चरणमा मंगलगढी चोक, यरीचोक, तीनकुने चोक र पीपीराचोकमा ट्राफिक लाइट राखिएको हो। हालै लाइटको परीक्षणसमेत गरिएको छ। पैदलयात्री र सवारी चालकलाई सचेत गराउनुका साथै ट्राफिक प्रहरीलाई आवश्यक तालिम दिएपछि लाइट सञ्चालन गरिने उनले बताए।
गत आर्थिक वर्षमा ठेक्का प्रक्रियामार्फत सुरु गरिएको यो काम एभरेष्ट टु।सी। अमर ज्योति जेभी पोखराले सम्पन्न गरेको हो। निर्माण कम्पनीले चालु आर्थिक वर्ष २०८३र०८४ मा काम पूरा गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको महर्जनले जानकारी दिए। पहिलो चरणमा चार स्थानमा ट्राफिक लाइट जडान गर्न करिब ८० लाख रुपैयाँ खर्च भएको छ।
विभागका अनुसार राजमार्गअन्तर्गत पर्ने वीरेन्द्रनगरका मुख्य चोकमा ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले अध्ययन गरी लाइट जडान गरिएको हो। आवश्यकताका आधारमा अन्य स्थानमा पनि अध्ययन गरेर विस्तार गर्ने योजना रहेको छ। ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयसँग मागसमेत गरिएको विभागले जनाएको छ।
ट्राफिक लाइट सञ्चालनअघि सर्वसाधारणलाई यसको प्रयोगबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीसँग समन्वय गरी बजेटको व्यवस्था गरिएको विभागको भनाइ छ। बढ्दो सवारी चापसँगै दुर्घटनाको जोखिम बढेपछि सडकमा व्यवस्थित आवागमन कायम गर्न लाइट जडान गरिएको हो।
यसैबीच, चालु आर्थिक वर्षमा वीरेन्द्रनगरको राजमार्ग क्षेत्रमा फुटपाथ व्यवस्थापन र सडक सुधारका काम अघि बढाउने तयारी छ। सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको करिब आठ किलोमिटर सडकलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत सडक चौडा गर्ने, नाला निर्माण गर्ने, फुटपाथ व्यवस्थापन गर्ने र सर्भिस ट्र्याक बनाउने काम अघि बढाइने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालय प्रमुख विवशवावु सदादेवका अनुसार उक्त बृहत् योजना कार्यान्वयन गर्न यस वर्ष बजेट माग गरिएको छ। बजार क्षेत्रमा सडकको जोखिम बढ्दै गएको र दुर्घटनाबाट जनधनको क्षति हुने गरेको अवस्थामा सडक पूर्वाधार सुधारलाई प्राथमिकता दिन लागिएको उनले बताए।यसअघि वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ। बीचमा केही प्राविधिक समस्या देखिए पनि अहिले उक्त लाइट नियमित सञ्चालनमा रहेको जनाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहितकुमार शाहीले भने हाल उपलब्ध जनशक्तिबाट थप चार स्थानमा ट्राफिक लाइट सञ्चालन तथा व्यवस्थापन गर्न चुनौती हुन सक्ने बताए। लाइट प्रभावकारी बनाउन नागरिक सचेतना र ट्राफिक प्रहरीको जनशक्ति वृद्धि आवश्यक रहेको उनको भनाइ छ।
वीरेन्द्रनगरका मुख्य चोकमा ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थित हुने र दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








