चन्द्रागिरि हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरी शुभारम्भ गरेको सो र्याली धोबीघाट–जावलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड जुद्धसालिक–ठमेल–बालाजु–स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउँ हुँदै मातातीर्थ पुगेर आइतबार सम्पन्न भएको थियो।
टिडिएस सिस्टमको सो मोटर र्यालीमा विप्लक र राजन पहिलो भए। प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो हुँदा आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भयो।
त्यसै गरी चन्द्रागिरिकै मदन भण्डारी खेलमैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा मोटरस्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नो स्पिड र स्किल प्रदर्शन गरेका थिए। मटर लम्बाइ र आठ मिटर चौडाइमा तयार गरेको अस्थायी ट्रयाकमा ११ जना ड्राइभर्सलाई पछि पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका छन्।
चन्द्रागिरिकै विप्लकले दोस्रो स्थान पक्का गरे भने सोही ट्य्राकमा भएको नोभिस क्याटेगोरीको रेसिङमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए।
उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीहरूले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।








