कपिलवस्तुमा बस र पिकअप गाडी एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका–४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिंदा एक जनाको मृत्यु भएको हो।
मंगलबार बिहान साढे ५:१५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र.०२–००१ ख ०५२५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए।
उनका अनुसार ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार








