खोटेहाङ गाउँपालिका– २ वाप्लुखामा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ।
वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ रुपैयाँको लगानीमा तीनकोठे भवन निर्माण भएको हो।
‘सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्ययन–अध्यापन हुन्छ। कक्षा कोठा अभावमा पठनपाठनमा समस्या थियो। ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ’, प्रधानाध्यापक नयन्द्रकुमार राईले भने।
उक्त विद्यालयमा हाल एक सय ६ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा तीन प्राथमिक तहका स्थायी दरबन्दी, दुई निम्न माध्यमिक तहका राहत दरबन्दी, एक प्राथमिक तहका राहत शिक्षक तथा एक बाल विकास सहयोगी कार्यकर्ता र दुई निजी स्रोतका शिक्षक कार्यरत छन्। –रासस








