सरुवा भई आएका तौलिहवास्थित कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेनटेन्ट डा. किशोर बन्जाडेको स्वागतमा मंगलबार बिहान साढे १० बजेतिर अस्पताल हाताभित्रै आतसबाजी गरिएको छ।
गुल्मी अस्पतालबाट सरुवा भई आएको खुसीयालीमा अस्पतालमा एक मिनेटभन्दा बढी पटाका पड्काइएको थियो। अस्पतालको हलमा कर्मचारी, राजनीतिक दलका नेतासहितको टोलीले मेसुको स्वागत गरिरहेकै बेला पटाका पड्काइएको हो।
पटाकाको आवाजले अस्पतालका बिरामी, सेवाग्राही र नजिकै रहेको तौलेश्वरनाथ संस्कृति उच्च माविका विद्यार्थीसमेत त्रसित बनेका थिए। सो घटनापछि सामाजिक सञ्जालमा त्यसको भिडियोसहितका सामग्री भाइरल बन्यो।
अस्पतालमा सुरक्षाकर्मीसमेत रहने गर्छन्। यस्तोमा उनीहरुकै अगाडि पटाका पड्काउँदा सुरक्षाकर्मीसमेत मौन बसेको भन्दै स्थानीय आक्रोशित बनेका थिए। घटनाको विरोधपछि प्रहरीले सोही अस्पतालमा कार्यरत करारका इलेक्ट्रिसियन डेबिट उसमान मुसलमानलाई नियन्त्रणमा लिई घटनाको अनुसनधान गरिरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए।
२०८० जेठमा यही अस्पतालबाट मेसु बन्जाडेको सरुवा भएको थियो। झन्डै नौ महिनापछि बन्जाडे सरुवा भई यहीं आएका हुन्। डा. बन्जाडेको स्वागत कार्यक्रम भइरहेको बेला पटाका पड्काइएको बारेमा आफूहरूलाई थाहा नभएको अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले बताए।
सामाजिक सञ्जालबाट आफूले पनि पटाका पडकाएको खबर थाहा पाएपछि अस्पतालबाट त्यस्तो काम नभएको भन्दै खण्डन गरिएको शुक्लाले बताए। मेसु बन्जाडेको सरुवा लिस्ट बाहिर आएपछि एक साताअघि उनका समर्थकहरुले लडडु बाँड्दै अस्पताल हाताबाहिर पटाकासमेत पड्काएको स्थानीयबासी बताउँछन्।








