२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाविरुद्ध खेल जित्न नेपालले पायो ११६ रनको लक्ष



आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ।

शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।

नेपालका लागि कुशल भुर्तेलले पनि ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।

नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा रहेका छन्। बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा छन्। सुपर–८ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपाललाई दक्षिण अफ्रिकालाई हराउनु आवश्यक छ।

दक्षिण अफ्रिका पछिल्लो आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा सातौँ स्थानमा छ भने नेपाल १७औँ स्थानमा रहेको छ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार