२०८३ कात्तिक १७ , मंगलबार

ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित



काठमाडौं। अनलाइन प्रणालीमा समस्या आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ।

केही दिनदेखि कम्पनी दर्ताका लागि आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) सेवाग्राहीको मोबाइलमा नआउँदा दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो। कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले ओटीपी अनिवार्य गरे पनि सूचना प्रविधि विभागको सर्भरमा आएको समस्याका कारण ओटीपी जेनेरेट हुन नसकेको कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीले बताए।

उनका अनुसार अघिल्लो साताको बिहीबार र शुक्रबारदेखि समस्या देखिएको थियो। लगातार तीन दिन ओटीपी नआएर काम रोकिएकोमा सोमबार केही समय प्रणाली चले पनि पुनः समस्या दोहोरिएको थियो। प्रणाली पूर्ण रूपमा बन्द नभए पनि बीचबीचमा चल्ने र रोकिने समस्या रहेको कार्कीले बताए। सफ्टवेयरमा प्राविधिक अद्यावधिक वा परिमार्जन गर्दा समस्या आएको हुन सक्ने उनको भनाइ छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले आन्तरिक प्रणालीमा पनि सामान्य समस्या रहेको स्वीकार गरेको छ। तर, दर्ता प्रक्रिया प्रभावित हुनुको मुख्य कारण सूचना प्रविधि विभागको प्रणालीमा आएको खराबी रहेको कार्कीले बताएका छन्। यता, सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले समस्या समाधानका लागि काम भइरहेको र चाँडै प्रणाली नियमित हुने बताए।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार