२०८३ कात्तिक १७ , मंगलबार

चौकुनेमा पालिकास्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न



दिलिप कंडेल सुर्खेत ।  चौकुने गाउँपालिकामा पालिकास्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न भएको छ। समावेशी शिक्षा सञ्जालका संयोजक नरबहादुर बान्तोलाको अध्यक्षतामा सम्पन्न बैठकमा चौकुने गाउँपालिका अध्यक्ष खडक विवश वासपाने प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत दामोदर ज्ञवाली विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो । बैठकमा एजुकेसनल पेजेजकी कर्णाली प्रदेश संयोजक कमला मल्ल, सोसेक नेपालका अर्जुन शाही, इलाका प्रहरी कार्यालय गुटुका प्रमुख यज्ञश्वर गिरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गुटुका प्रमुख वीरेन्द्र लम्साल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी वडा नम्बर ६ का वडाध्यक्ष गोविन्द थापा, वडा नम्बर ७ का वडाध्यक्ष धनिराम धमाला, वडा नम्बर ८ का वडाध्यक्ष कमल जिसी, शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा, विभिन्न शाखाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो। बैठकमा शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले पालिकास्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको उद्देश्य, महत्व, भूमिका तथा यसको आवश्यकताबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा एजुकेसनल पेजेजकी कर्णाली प्रदेश संयोजक कमला मल्लले बालिकाको शिक्षामा पहुँच, निरन्तरता, गुणस्तरीय शिक्षा तथा विद्यालयमा समावेशी वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

त्यस्तै सोसेक नेपालका कार्यक्रम अधिकृत अर्जुन शाहीले बालिका तथा समावेशी शिक्षाको प्रवर्द्धनका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा चौकुने गाउँपालिकाको बालिका तथा समावेशी शिक्षा सञ्जाल कार्ययोजना २०८२ को कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो। कार्ययोजनामा समावेश गरिएका कार्यक्रम तथा गतिविधिहरूको प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरिएको थियो।

साथै बालिकाको शिक्षामा पहुँच, विद्यालयमा निरन्तरता, लैङ्गिक समानता तथा अपाङ्गता भएका बालबालिकासहित सबै बालबालिकाका लागि समावेशी शैक्षिक वातावरण निर्माण गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। बैठकले बालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने, शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म ल्याउने तथा अपाङ्गता भएका र सीमान्तकृत समुदायका बालबालिकाका लागि समावेशी तथा पहुँचयुक्त शैक्षिक वातावरण निर्माण गर्न सञ्जालको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार