२०८३ कात्तिक १७ , मंगलबार

‘देश सङ्कटमा छ, पूर्वाग्रह त्यागेर एकतामा जुटौँ’ : प्रचण्ड



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेकाले सबै प्रकारका आग्रह–पूर्वाग्रह त्यागेर कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा सहकार्य गरेका सबै वामपन्थी दल र नेताहरूलाई एकताको अभियानमा सहभागी हुन आग्रह गरेका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका नेताहरूलाई लक्षित गर्दै राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेकाले आपसी मतभेद र पूर्वाग्रह छाडेर बृहत् कम्युनिस्ट एकताको अभियानमा जोडिन अपिल गरे।

प्रचण्डले आफूले शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि निरन्तर प्रयास गर्दै आएको स्मरण गरे। संविधान जारी भएपछि जनताले कम्युनिस्ट शक्तिहरूप्रति ठूलो अपेक्षा राखेकाले पुनः एमालेसँग एकताको पहल गरेको उनको भनाइ थियो। विगतको राजनीतिक सहकार्यबारे चर्चा गर्दै उनले तत्कालीन अवस्थामा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर चुनावी तालमेल र त्यसपछि पार्टी एकता गर्ने सहमति भएको बताए।

उक्त सहकार्यपछि भएको निर्वाचनमा कम्युनिस्ट शक्तिहरूले झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको पनि उनले स्मरण गरे। निर्वाचनबाट प्राप्त जनमत मुलुकमा सुशासन कायम गर्दै समाजवादको आधार निर्माण गर्ने महत्वपूर्ण अवसर भएको प्रचण्डले बताए। तर, दुर्भाग्यवश त्यस्तो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न नसकिएको उनले स्वीकार गरे।

विगतका एकता प्रयास असफल भए पनि त्यसबाट निराश हुनुभन्दा कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए। देश र जनताको हितलाई केन्द्रमा राखेर पुनः कम्युनिस्ट एकता तथा राजनीतिक ध्रुवीकरणको प्रयास सुरु गरिएको उल्लेख गर्दै उनले वर्तमान सहकार्य त्यसैको प्रारम्भ भएको बताए।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार