काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले अनिवार्य अवकाश पाएपछि भारतीय विदेश मन्त्रालयले दलेलालाई नयाँ राजदूतका रूपमा नियुक्त गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला नवनियुक्त राजदूत दलेला नेपाल आएका हुन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीलाई तीव्रता दिन भारतीय विदेश सचिव विक्रम मिश्री पनि बुधबार काठमाडौं आउँदैछन्।
मिश्रीले प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्रीसहित नेपालका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। ती भेटघाटपछि प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुंगो लाग्ने स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिरको पहिलो साता गर्ने तयारी भए पनि भ्रमणको औपचारिक मिति भने सार्वजनिक गरिएको छैन।








