२०८३ कात्तिक १७ , मंगलबार

लुम्बिनीलाई शीर्षस्थानमा उक्लने अवसर, पोखरा पहिलो जितको खोजीमा



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। लुम्बिनी आजको खेल जित्दै प्रतियोगिताको शीर्षस्थानमा पुग्ने दाउमा छ भने पोखरा पहिलो जित निकालेर अंकको खाता खोल्न चाहन्छ। लुम्बिनीले यसअघि खेलेका दुई खेलमध्ये एउटामा जित हात पारेको छ।

शनिबार चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। हाल तीन अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको लुम्बिनीले पोखरालाई हराए पाँच अंक पु¥याउँदै शीर्षस्थानमा उक्लनेछ। यता, पोखराका लागि भने प्रतियोगितामा सुरुआत नै सुखद हुन सकेको छैन। यसअघिका दुवै खेलमा पराजय बेहोरेको पोखरा अंकविहीन रहँदै तालिकाको पुछार अर्थात् आठौँ स्थानमा छ। त्यसैले लुम्बिनीविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य पोखराको हुनेछ।

मंगलबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेपछि अंकतालिकाको शीर्षस्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ। विराटनगर, कर्णाली याक्स र जनकपुरको समान चार अंक छ। राम्रो नेट रनरेटका आधारमा विराटनगर शीर्षस्थानमा रहेको छ। यस्तो अवस्थामा लुम्बिनीका लागि पोखराविरुद्धको खेल शीर्षस्थानमा पुग्ने महत्वपूर्ण अवसर बनेको छ। अर्कोतर्फ पोखरा पनि पहिलो जितको खोजीमा रहेकाले कीर्तिपुरमा हुने यो प्रतिस्पर्धा दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार