काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको प्रस्तावित भारत भ्रमण नजिकिँदै गए पनि भ्रमणको कार्यसूची र आवश्यक तयारीले अझै स्पष्ट रूप लिन सकेको छैन।
मंसिर ६ देखि ८ गतेसम्म भारत भ्रमण गर्ने तयारी भइरहेको बताइए पनि सरकारले औपचारिक मिति सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको जनाए पनि भ्रमणमा उठाइने विषय र द्विपक्षीय एजेण्डाबारे ठोस गृहकार्य अघि नबढेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ। मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि तयारी भइरहे पनि छलफलका विषयहरू अझै तय भएका छैनन्।
विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि विभिन्न चरणमा दर्जनौँ बैठक र छलफल हुने गरे पनि यसपटक त्यस्तो सक्रियता देखिएको छैन। प्रधानमन्त्री कार्यालयबाट समेत एजेण्डाबारे स्पष्ट जानकारी प्राप्त नभएको उनले बताए। यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार काठमाडौं आउँदैछन्। उनको नेपाल भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूची र मिति टुंग्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
मिश्रीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ। उक्त छलफलपछि भ्रमणका एजेण्डाले स्पष्ट दिशा लिने अपेक्षा गरिएको छ। भारतीय विदेश सचिवले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्ने तयारी छ। यसअघि वैशाखमा प्रस्तावित उनको नेपाल भ्रमण प्रधानमन्त्रीसँग भेट हुन नसकेपछि स्थगित भएको थियो।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा केही महत्वपूर्ण परियोजनाको उद्घाटन तथा द्विपक्षीय समझदारी गर्ने विषयमा पनि चर्चा भइरहेको छ। अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। तर, यसका लागि सम्बन्धित निकायले गरेको तयारीबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
त्यस्तै, भारतीय सहयोगमा निर्माण सम्पन्न भएका पनौतीस्थित प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, भैरहवाको एकीकृत जाँच चौकी तथा दार्चुला र महाकाली नदीमा निर्माण गरिएका पुल संयुक्त रूपमा उद्घाटन गर्ने विषय पनि चर्चामा छ। यद्यपि यी आयोजनाको उद्घाटनसम्बन्धी आवश्यक तयारी पूरा भइसकेको छैन।
दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण, लोअर अरुण जलविद्युत् आयोजना र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा समेत दुई देशबीच छलफल हुन सक्ने बताइएको छ। भारतका लागि पूर्वनेपाली राजदूतले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी प्रायः अन्तिम समयमा मात्रै हुने गरेको टिप्पणी गरेका छन्। समयमै पर्याप्त गृहकार्य नहुँदा भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनमा समेत समस्या आउने गरेको उनको भनाइ छ।
कूटनीतिक मामिलाका जानकारहरूले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै छलफलका विषय, सम्भावित समझदारी र राष्ट्रिय हितका प्राथमिकता स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारले विषयगत अध्ययन र आवश्यक गृहकार्यमा जोड दिनुपर्छ।
राजनीतिक विश्लेषक एवं लेखक हरि रोकाले नेपालको भारतसँगको सम्बन्धमा आफ्ना आवश्यकता र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। भारतले प्रस्ताव गरेका विषय स्वीकार गर्ने मात्र नभई नेपालले के चाहेको हो र त्यसका लागि के पहल गर्न सक्छ भन्ने विषय पनि एजेण्डामा समेटिनुपर्ने उनको धारणा छ।
उनले यातायात, ऊर्जा, जलस्रोत, कृषि, तेल, ग्यास तथा रासायनिक मललगायतका क्षेत्रमा नेपालको दीर्घकालीन हितलाई ध्यानमा राखेर स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका छन्। यसका लागि विश्वविद्यालय, प्राज्ञिक संस्था र विषयगत विज्ञहरूबीच पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ छ।
पूर्वराजदूत नीलाम्बर आचार्यले वर्तमान सरकार स्थिर भएकाले भारत भ्रमणमा पनि सोहीअनुसार तयारी गरेर जानुपर्ने सुझाव दिएका छन्। विगतका सरकारले पनि भ्रमणअघि तयारी गर्ने गरेको उल्लेख गर्दै उनले त्यसबाट भएका सहमति कति कार्यान्वयन भए भन्ने विषय भने अलग समीक्षा गर्नुपर्ने बताए।
उनका अनुसार अहिलेको सरकारप्रति जनताको अपेक्षा फरक रहेकाले भारतसँगका द्विपक्षीय मुद्दामा स्पष्ट र ठोस धारणा राख्न आवश्यक छ। नेपाल–भारतबीच लामो समयदेखि रहेका समस्यालाई समाधान गर्ने विषयलाई समेत भ्रमणको प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन्।
उनले आफ्नो कार्यभार सम्हाल्नेछन्। स्रोतका अनुसार बुधबारदेखि हुने सचिवस्तरीय छलफलमा दलेला पनि सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति घोषणा हुनुअघि नै भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलाई नयाँ दिल्ली पठाउने तयारी पनि भइरहेको छ।
भारतबाट एग्रिमो अर्थात् सहमति प्राप्त भएपछि पाण्डेले आफ्नो जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली जाने मन्त्रालयका अधिकारीहरूले बताएका छन्। भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण र त्यसक्रममा हुने उच्चस्तरीय भेटवार्ताले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति, एजेण्डा तथा सम्भावित द्विपक्षीय सहमतिहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।








