अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो। १९ औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९ औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसिसी मेन्स टि ट्वान्टी वर्ल्ड कप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम सुरु भएको बताए । उनले नेपालमा खेलाडीहरूको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए। उनले खेलाडी, खेल प्रेमी, प्रशंसकहरूबाट सिकेको सुसंस्कृत कुराहरू राजनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठुलो हौसला मिलेको धारणा राखे। उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्ने कुरा प्रमाणित भएको बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार राशि प्राप्त हुनेले खेलाडीहरूमा ठुलो हौसला मिल्ने धारणा राखे। उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्ने कुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए।उनले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए ।








