२०८३ कात्तिक १७ , मंगलबार

जनताका अपेक्षा पूरा गर्न सरकार असफल भएको महतको आरोप



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले सुशासनको प्रतिबद्धतासहित गठन भएको सरकारले निर्वाचनका क्रममा गरेका वाचाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले राज्यका विभिन्न निकायमा अन्योलको अवस्था देखिएको उल्लेख गर्दै प्रशासनिक संयन्त्र र संवैधानिक निकाय सञ्चालन गर्दा स्थापित विधि, प्रक्रिया र कानुनी व्यवस्थाको पालना गर्न सरकारलाई आग्रह गरे।

महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको भन्दै सञ्चारकर्मीले निर्वाध रूपमा आफ्नो विचार राख्न र सूचना सम्प्रेषण गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए। आधार र कारणबिना पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनको भनाइ थियो।

सरकारले सुशासन, विधिको शासन र नागरिकका दैनिक सरोकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै महतले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार