२०८३ असार ३२ , बिहीबार

शिक्षक महासंघ गाउँपालिका समितिको ७ बुँदे माग पत्र पेश, पूरा नभए आन्दोलन गर्ने चेतावनी



नेपाल शिक्षक महासंघको पाथीभरा याङवरक गाउँ समितिले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका समक्ष काज सरुवा गरिएका शिक्षकहरुलाई तत्काल पदाधिकार रहेको विद्यालयमै सरुवा गर्नुपर्ने ७ बुँदे माग पत्र पेश गरेको छ।

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बालाई शिक्षक महासंघको गाउँपालिका समिति अध्यक्ष देउकुमार सुब्बाले ७ बुँदे माग पत्र पेश गरेका छन्। मागपत्रमा शिक्षकहरुको आवधिक सरुवा शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार मात्र गर्नुपर्ने, करार शिक्षक नियुक्त गर्दा शिक्षा ऐन र नियमावलीमा व्यवस्था भए अनुसार विषय विज्ञको छनौट विद्यालय व्यवस्थापन समितिले गर्न पाउनुपर्ने, छनौट भएका विषय विज्ञको रोष्टर लिष्ट पालिकाले सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनुपर्ने सहितका माग पेश गरिएको नेपाल शिक्षक महासंघ गाउँपालिका समितिले जनाएको छ।

यस्तै,स्थानीय बिषयको पाठ्यपुस्तकको अनिवार्य व्यवस्था गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिको निर्णयलाई पालिका शिक्षा समिति र पालिकाको शिक्षा शाखाले अपनत्व ग्रहण गरी सोहि अनुसार थप योजना बनाउनुपर्ने माग समेत गरिएको छ।

महासंघले बाल शिक्षक,कार्यालय सहयोगी र भाषा शिक्षकलाई संघीय सरकारले तोके बमोजिमको तलब भत्ताको व्यवस्था गर्नुपर्ने माग समेत गरेको छ। शिक्षक महासंघको गाउँपालिका समितिले पालिकाका शिक्षा अधिकृत र प्राविधिक सहायकको कार्यशैलीले शिक्षकहरुको पेशागत मर्यादामा हस्तक्षेप हुन पुगेको भन्दै प्रश्न समेत उठाएको छ।

गत जेठ २९ गते गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको बैठकमा सहभागी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुलाई बैठक खातामा दस्तखत समेत गर्न नदिएको शिक्षक महासंघको आरोप छ।

महासंघले यस्तो गलत कार्यशैलीले पालिका भरिका प्रधानाध्यापक र शिक्षकहरुमा अनावश्यक हस्तक्षेप र शैक्षिक अन्योल सिर्जना गरेको भन्दै यस्ता क्रियाकलाप तुरुन्त सच्याउन शिक्षा अधिकृत र शिक्षा शाखाका प्राविधिक सहायकलाई आग्रह समेत गरेको छ। महासंघले असार मसान्तसम्ममा आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने समेत चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार