काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयमा पार्टीको कुनै निर्देशन वा हस्तक्षेप नरहेको दाबी गरेका छन्।
अनलाइनखबरसँग कुरा गर्दै प्रवक्ता खरेलले पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन निर्देशन नदिने स्पष्ट पारे। यसअघि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीको निर्देशनअनुसार आईजीपी कार्कीलाई हटाइएको बताएका थिए। त्यसपछि सरकार र पार्टीका प्रवक्ताको भनाइबीच विरोधाभास देखिएको हो।
मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै एआईजी मनोज कार्कीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। प्रवक्ता खरेलले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन।’
आईजीपी हटाउने घटनामा पार्टीको भूमिका रहेको हो कि होइन भन्ने प्रश्नमा उनले पार्टीले त्यस्तो निर्देशन नदिएको र यस विषयमा कुनै भूमिका नरहेको दोहोर्याए। यसैबीच, केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनाबारे पनि खरेलले सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
उनका अनुसार पत्रकार पक्राउ गर्ने व्यक्ति र पक्राउ गर्न आदेश दिने व्यक्तिमाथि कारबाही हुनुपर्ने पार्टीको धारणा थियो। तर सरकारले आईजीपी कार्कीमाथि कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएको उनले उल्लेख गरे।
‘सरकारले यसलाई कारबाही भनेको पनि छैन। पत्रकार पक्राउ परेको घटनामा कारबाही गरिएको हो भने त्यही घटनासँग जोडेर स्पष्ट भन्नुपर्छ,’ खरेलले भने। यस विषयमा सरकारले नै आफ्नो निर्णय र त्यसको आधारबारे थप स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।








