काठमाडौं। सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत रहने गरी सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै कार्की प्रहरी संगठनको नेतृत्वबाट बाहिरिएका छन्। उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिने निर्णय गरिएको छ।
सरकारले कार्कीलाई हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ। पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको भूमिकालाई लिएर प्रश्न उठेपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ।
सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि सरकारले उनलाई पदमुक्त गर्नुको सट्टा प्रधानमन्त्री कार्यालय मातहत सरुवा गर्ने विकल्प रोजेको हो। यद्यपि, कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउनुको औपचारिक कारण सरकारले सार्वजनिक गरेको छैन। मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेर गरिएको बताएका थिए।
त साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयहरूमा प्रहरी परिचालन गरी पक्राउ र धरपकड गरिएको घटनाले सरकार र प्रहरी नेतृत्वबीच विवाद उत्पन्न गरेको थियो। उक्त घटनामा प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिको दबाबमा प्रहरी परिचालन गरिएको र गैरकानुनी गिरफ्तारीसमेत गर्न निर्देशन दिइएको विषय सार्वजनिक भएको थियो।
यस घटनामा प्रहरी नेतृत्वको भूमिकालाई लिएर पनि प्रश्न उठेको थियो। यही पृष्ठभूमिमा सरकारले कार्कीलाई जिम्मेवारीबाट हटाएको समाचार सार्वजनिक भएको हो।
कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। २४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए।
कार्कीको कार्यकाल अझै बाँकी रहेकै अवस्थामा सरकारले उनलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत सरुवा गरेको हो। सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ। अब डा. मनोज केसीले ३४औँ प्रहरी महानिरीक्षकका रूपमा संगठनको कमाण्ड सम्हाल्नेछन्।








