काठमाडौं। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई संसदीय समितिमार्फत पत्र लेखेकी छन्।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको पत्र पढेर सुनाएकी हुन्। पत्रमा उनले सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्रै देश सञ्चालन हुन नसक्ने उल्लेख गर्दै जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमै सही निर्णय लिनुपर्ने आवश्यकता औँल्याएकी छन्।
‘देश सञ्चालन सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्र सम्भव हुँदैन । यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमा लिइने सही निर्णय आवश्यक हुन्छ,’ उनले भनिन्। पछिल्लो समय देशका विभिन्न क्षेत्रमा अन्योल, अस्थिरता र अनिश्चितता बढेको उल्लेख गर्दै उनले आम नागरिकमा बढ्दै गएको चिन्ता र असुरक्षाको भावनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताइन्।
उनले सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा, शान्ति–सुशासन, रोजगारी सिर्जना, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। सांसद सिद्धिकीले प्रधानमन्त्रीलाई राजनीतिक अभिव्यक्तिभन्दा कामलाई प्राथमिकता दिन र राज्यका निकायलाई जिम्मेवार बनाउन आग्रह गरेकी छन्।
‘सरकारलाई सचेत गराउनु विरोध होइन, देशप्रतिको जिम्मेवारी हो। आजको समय आरोप–प्रत्यारोपमा बिताउने होइन, सम्भावित संकटबाट देशलाई जोगाउने समय हो,’ उनले पत्रमा उल्लेख गरेकी छन्।
देश र जनताको हितलाई सर्वोपरि राख्दै वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले देशमा शान्ति, नागरिकको सुरक्षा र राष्ट्रलाई सही दिशामा अघि बढाउनु सबैको साझा चाहना भएको बताएकी छन्।








