काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गरी सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते बबरमहलस्थित कार्यालयबाट उक्त सामग्री बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) एक–एक थानका दरले बढीमा दुई थान खरिद गर्न पाइनेछ ।
असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिनेछ । खरिद गर्न इच्छुक सेवाग्राही स्वयं उपस्थित हुनुपर्नेछ । त्यसका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सम्बन्धित परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य गरिएको छ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजे निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु गरिनेछ ।








