काठमाडौं। तिहार नजिकिएसँगै बजारमा भाइमसलाको कारोबार बढ्न थालेको छ। दाजुभाइलाई भाइटीकामा उपहार दिने प्रचलनका कारण तिहारमा ड्राई फ्रुट्सको माग बढ्ने गरेको छ।
तर, यस वर्ष बजारमा अधिकांश भाइमसलाको मूल्य बढेको छ। व्यापारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष भाइमसलाको मूल्य प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्म बढेको छ। आयात मूल्य बढेर आएकाले बजारमा पनि त्यसको असर परेको व्यवसायीको भनाइ छ। व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिना (साउन–असोज) मा तीन अर्ब सात करोड ५३ लाख २३ हजार रुपैयाँ बराबरको भाइमसला आयात भएको छ।
उक्त अवधिमा विभिन्न प्रकारका एक करोड ७८ लाख ११ हजार ९६६ किलो ड्राई फ्रुट्स आयात भएको केन्द्रले जनाएको छ। यसबाट सरकारले एक अर्ब ३७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। तिहारमा ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा, पेस्ता र सुपारीलगायतका वस्तुको माग उच्च हुने गर्छ। यही मागलाई लक्षित गर्दै व्यवसायीले विभिन्न मुलुकबाट ठूलो परिमाणमा भाइमसला आयात गर्ने गरेका छन्।
केन्द्रको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म ५८ करोड ७५ लाख ५९ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख ८१ हजार ४४६ किलो नरिवल आयात भएको छ। त्यस्तै, ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको पाँच लाख नौ हजार ७८ किलो बदाम आयात भएको छ।
यस अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको पाँच लाख ५३ हजार ५४४ किलो ओखर आयात भएको छ। ओखर मुख्य रूपमा चीन र अमेरिकाबाट आयात हुने गरेको छ। त्यसैगरी, ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको चार लाख ६९ हजार ४५१ किलो काजु आयात भएको छ। सुपारी भने ८४ करोड ७७ लाख सात हजार रुपैयाँ बराबरको ३२ लाख ४० हजार किलो आयात भएको केन्द्रको तथ्याङ्क छ।
यस्तै, ३० लाख रुपैयाँ बराबरको एक हजार ९५७ किलो पेस्ता, चार लाख ४३ हजार रुपैयाँ बराबरको खजुर तथा छ लाख ५९ हजार रुपैयाँ बराबरका अन्य नट्स आयात भएका छन्। भारत, कतार, भियतनाम, चीन, मलेसिया, सिंगापुर, इन्डोनेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिकालगायतका मुलुकबाट नेपालमा ड्राई फ्रुट्स आयात हुने गरेको छ।
तिहार नजिकिएसँगै काठमाडौंको नयाँ सडकस्थित मखनगल्लीमा भाइमसला किन्ने ग्राहकको चहलपहल बढेको छ। भाइटीकाका लागि आवश्यक पर्ने मसला खरिद गर्न उपभोक्ता पसलमा पुग्न थालेका छन्। विक्की स्टोरका सञ्चालक विक्की रौनियारका अनुसार तिहार नजिकिँदै जाँदा भाइमसला किन्ने ग्राहकको संख्या बढ्दै गएको छ। अन्य समयको तुलनामा तिहारमा ड्राई फ्रुट्सको खपत बढी हुने भएकाले व्यापार पनि बढ्ने गरेको उनले बताए।
यस्तो छ बजारमा भाइमसलाको मूल्य
व्यवसायीका अनुसार यस वर्ष बजारमा अधिकांश भाइमसलाको मूल्य बढेको छ। पसलअनुसार मूल्यमा केही फरक भए पनि बजारमा प्रचलित मूल्य यस्तो छ ः
काजु ः प्रतिकेजी १ हजार ८०० देखि २ हजार २०० रुपैयाँ
किसमिस ः प्रतिकेजी ७०० देखि ७५० रुपैयाँ
पेस्ता ः प्रतिकेजी ३ हजार ७०० देखि ३ हजार ७५० रुपैयाँ
बदाम ः प्रतिकेजी १ हजार ८०० रुपैयाँ
ओखर ः प्रतिकेजी ५५० देखि ६०० रुपैयाँ
ल्वाङ ः प्रतिकेजी १ हजार ९०० रुपैयाँ
सुकमेल ः प्रतिकेजी ७ हजार रुपैयाँ
मिश्री ः प्रतिकेजी १८० देखि २०० रुपैयाँ
दालचिनी ः प्रतिकेजी ७५० रुपैयाँ
अन्जिर ः प्रतिकेजी १ हजार ८०० देखि २ हजार रुपैयाँ
व्यवसायीले आयात लागत बढेको कारण देखाउँदै मूल्य बढेको बताएका छन्। पसलपिच्छे फरक मूल्य कायम हुँदा उपभोक्तालाई भने एउटै वस्तु खरिद गर्दा पनि बढी रकम खर्च गर्नुपर्ने अवस्था छ। तिहारमा भाइमसलाको माग उच्च हुने भए पनि मूल्यवृद्धिले उपभोक्ताको खर्च बढाएको छ।








