२०८३ कात्तिक १८ , बुधबार

प्रहरीको ३४औँ आईजीपी बनेका डा. मनोज केसी को हुन् ?



सरकारले नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।

यसअघि सरकारले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। कार्यकाल अझै करिब डेढ वर्ष बाँकी रहेका कार्कीलाई जिम्मेवारीबाट हटाउँदै सरकारले केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो।

डा. मनोज केसी नेपाल प्रहरीभित्र अपराध अनुसन्धान, संगठन व्यवस्थापन र शैक्षिक क्षेत्रमा अनुभव हासिल गरेका प्रहरी अधिकारी हुन्। उनी र निवर्तमान आईजीपी दानबहादुर कार्की एउटै ब्याचीका प्रहरी अधिकृत हुन्। दुवै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

केसी २६ मंसिर २०६६ मा प्रहरी नायब उपरीक्षक (डीएसपी), १९ साउन २०७४ मा प्रहरी उपरीक्षक (एसपी), ३ साउन २०७९ मा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जेठ २०८१ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ११ वैशाख २०८२ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका थिए।

एआईजीमा बढुवा हुँदा उनी तेस्रो वरीयतामा थिए। पहिलो वरीयतामा दानबहादुर कार्की र दोस्रोमा राजन अधिकारी थिए। तर सरकारले दुवैलाई पछि पार्दै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो। केसीको चर्चा विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि व्यापक भएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको उक्त प्रकरणको अनुसन्धानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

यसैगरी, केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहँदा विभिन्न आर्थिक तथा संगठित अपराधका घटनाको अनुसन्धान गरेका थिए। उनको नेतृत्वमा अनुसन्धान भएका प्रमुख प्रकरणहरूमा पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकममा भएको अनियमितता तथा ठगी, धितोपत्र र बिमा ठगी, क्रिप्टोकरेन्सीसम्बन्धी अपराध तथा सरकारी जग्गा अतिक्रमण र हिनामिनाका घटनाहरू रहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुरुवाती चरणमा केसीको भूमिका महत्वपूर्ण थियो भने उक्त मुद्दाको अनुसन्धान प्रक्रियामा हालका पूर्वआईजीपी दानबहादुर कार्कीको पनि संलग्नता रहेको थियो।

डा. केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। सोही विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरणसम्बन्धी अध्ययनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा पनि उच्च शिक्षा हासिल गरेका छन्।

नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन भएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका केसीले प्रहरी एकेडेमीमा कार्यरत रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा योगदान दिएका थिए। उनले नेपाल प्रहरीका विभिन्न महत्वपूर्ण निकायमा रहेर काम गरिसकेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालय, विशेष ब्युरो, प्रहरी एकेडेमी तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलगायत विभिन्न जिल्लामा उनले जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हैटीमा समेत काम गरेका छन्। केसी फ्रान्सेली र स्पेनी भाषामा पनि दख्खल राख्छन्।

प्रहरी सेवासँगै लेखन र अनुसन्धानमा पनि रुचि राख्ने केसीले दुईवटा पुस्तक लेखेका छन्। उनका प्रकाशित पुस्तकहरूमा भ्लजबलअष्लन एगकजष्लन ल्भउब िर क्ष्मभलतषथष्लन भाभअतष्खभ ःभबकगचभक तय ऋयmदबत इचनबलष्शभम ऋचष्mभ ष्ल एयकत–ऋयलाष्अित प्बतजmबलमग रहेका छन्।

अपराध अनुसन्धान, प्रहरी संगठनको व्यवस्थापन, शैक्षिक नेतृत्व र अन्तर्राष्ट्रिय मिसनको अनुभव बटुलेका डा. केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। उनको कार्यकालमा प्रहरी संगठनको व्यावसायिकता, अनुसन्धान क्षमता र संस्थागत सुधारले कस्तो गति लिन्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार