प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराएका हुन्।
भारत भ्रमणमा नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा उपस्थित भएको र प्रधानमन्त्री मोदीसँगको भेटवार्ताबारे पनि प्रधानमन्त्री दाहालले जानकारी गराए।
‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्य कुराका अलावा नेपाल–भारत देशको सम्बन्ध अझै अगाडि बढाउने, दुई देशबिच विगत भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन सबै द्विपक्षीय संयन्त्रहरू यसमा सीमा समन्धी संयन्त्र पनि पर्दछ। संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन अरुण जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि राम्रो छलफल भएको छ।’
यस्तै आफुले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने प्रतिक्रिया आएको प्रधानमन्त्री दाहालले बताए।
यस्तै भ्रमणका बेला भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, विदेश मन्त्री एस जयशंकरलगायतसँग भएका भेटबारे पनि प्रधानमन्त्री दाहालले जानकारी गराए ।








