दैलेख । दैलेखमा झन्डै एक महिनादेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ।
दसैँ सकिएर तिहार नजिकिँदासमेत नयाँ प्रजिअ नियुक्त नहुँदा सर्वसाधारणले विभिन्न प्रशासनिक काममा सास्ती खेप्नुपरेको छ। प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक कामकाज, कर्मचारीको तलब भुक्तानी तथा राहत र क्षतिपूर्ति वितरणलगायतका काम प्रभावित भएका छन्।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि नयाँ अधिकारी नआउँदा जिल्ला प्रशासन कार्यालय अहिले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सञ्चालन भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार प्रमुख जिल्ला अधिकारीले मात्रै गर्न पाउने आर्थिक कारोबार तथा ठूला मुद्दाको सुनुवाइ र फैसला गर्ने अधिकार आफूलाई छैन। त्यसैले कतिपय महत्वपूर्ण काम अघि बढाउन समस्या भएको छ।
प्रजिअ नहुँदा जिल्ला प्रशासन कार्यालयका २२ कर्मचारीले तलब पाउन सकेका छैनन्। त्यस्तै, जीवन निर्वाह भत्ता पाउने ३० जनाको भुक्तानी प्रक्रिया पनि रोकिएको छ। लेखापाल रूपाखेतीका अनुसार विभिन्न कानुनी प्रक्रियाअन्तर्गतको धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिइने क्षतिपूर्ति तथा विपद् प्रभावितले पाउने राहत रकमसमेत वितरण हुन सकेको छैन।
भौगोलिक र रणनीतिक हिसाबले संवेदनशील मानिने दैलेखमा कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक तथा मध्यपहाडी राजमार्गको आवागमन र सुरक्षा व्यवस्थापनका लागि प्रशासनिक नेतृत्व आवश्यक रहेको स्थानीयको भनाइ छ। उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाएर प्रशासनिक कामलाई नियमित बनाउनुपर्ने माग गरेका छन्।








