काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक शिशुसहित ६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार सिरहाको गोलबजारमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा २२ वर्षीय लटल सदायको मृत्यु भएको छ।
त्यस्तै, बाराको चुरियामाईमा ट्रक र मोटरसाइकलबीच भएको ठक्करमा २१ वर्षीय निराजन यादवले ज्यान गुमाएका छन्। धनुषाको मिथिला बिहारीमा भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय राहुल साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, नवलपरासी पूर्वको कावासोतीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारूको ज्यान गएको छ। गोरखा नगरपालिका–८ मा भएको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय महेश बानिया र पोखरा महानगरपालिका–६ जरेवरमा भएको दुर्घटनामा २२ वर्षीय देव तामाङको मृत्यु भएको छ।
उक्त दुर्घटनाहरूमा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न केही चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








