प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारको प्रतिनिधिसभा बैठकमा चलेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका बेला शीर्ष नेताहरू नआएकामा गुनासो गरेका छन्।
सांसद्का प्रश्नको उत्तर दिइसकेपछि छोटो मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले यस्तो गुनासो पोखेका हुन्।
‘जाँदाजाँदै एउटा कुरा सबै माननीयज्यूहरूलाई एउटा कुराको ध्यानाकर्षण गराउन चाहन्छु’, प्रधानमन्त्री दाहालले भने,‘हाम्रो संसद्को परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्ष पनि सबै नेताहरू, सबै माननीयहरू, मन्त्रीहरू इमरजेन्सीबाहेक उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो। तर अब क्रमशः पातलिन थाल्या छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला ?’
यो प्रकृया जारी रहे सबैले आफूले आफूलाई अवमूल्यन ठहरिने दाबी गदै प्रधानमन्त्री दाहालले मन्तव्य टुङ्ग्याए।
प्रधानमन्त्री दाहाल प्रश्नोत्तरमा सहभागी हुँदा सत्तारुढ गठबन्धनको ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेता उपस्थित रहेनन्। सरकारकै केही मन्त्रीहरू समेत बैठकमा सहभागी नभएको बुझिएको छ।
सांसदहरूको उपस्थिति पनि निकै नगन्य थियो। सिटहरू खाली खाली देखिए। यही विषयमा प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाएका हुन्।








