२०८३ साउन १ , शुक्रबार

महानगरका विभागीय प्रमुखकी श्रीमतीलाई पनि सरकारी गाडी !



काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको अवस्थामा सरकारी गाडी फेला पारेको छ। सूचनाका आधारमा बिहीबार श्रेष्ठको बालाजुस्थित निवास पुगेको महानगरको टोलीले गाडी फेला पारेपछि फिर्ता लिएको छ।

श्रेष्ठले प्रयोग गर्दै आइरहेको गाडी बाहेक अर्को गाडी पनि घरमा लगेको भन्ने सूचना पाएपछि महानगरको टोली उनको घर पुगेको थियो । जहाँ महानगरको बि एए ४८२० नम्बरको मारुती सुजुकी कार फेला परेको छ।

विभागीय प्रमुखहरूलाई गाडी सुविधा दिइएको छ। एउटा गाडी उहाँहरूले पाउनुहुन्छ। प्रयोग पनि गरिरहनुभएको छ,’ स्रोतले भन्यो,‘त्यो बाहेक पनि उहाँले अर्को गाडी लिएर श्रीमतीलाई दिएर घरायसी प्रयोगमा लगाएको सूचना पाएपछि घरमा पुग्दा यो कार भेटिएको छ।’ ६ महिनादेखि गाडी श्रेष्ठको घरमा प्रयोग गरिरहेको पाइएको महानगर स्रोतले जनाएको छ।

गाडीको चाबी पनि श्रेष्ठकी श्रीमतीसँग फेला परेको छ। यस्तै गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको स्रोत बताउँछ।

महानगरको टोलीले गाडी कार्यालयमा ल्याएर राखेको छ। महानगरका मेयर बालेन्द्र साहको सचिवालयले यो विषयमा थप छानबिन गरेर आवश्यक कारबाही गर्ने जनाएको छ। ‘अब थप छानबिन हुन्छ। अहिले महानगर बजेटको काममा व्यस्त छ। बजेटपछि के गर्ने भनेर छलफल हुन्छ,’ सचिवालय स्रोतले भन्यो।

उक्त मारुती कार महानगरपालिकालाई युरोपियन युनियनले अनुदानमा दिएको महानगर स्रोतले बतायो।

यता विभाग प्रमुख श्रेष्ठले भने आफूले नै त्यो गाडी प्रयोग गरिरहेको दाबी गरे। ‘त्यो गाडी मैले नै प्रयोग गर्थे। आज बिग्रिएकाले अर्को गाडीमा आएको थिएँ,’ उनले भने, ‘गाडी बनाउन घरमा मेकानिकल बोलाएको थिएँ। बनाउने भनेर घरमा राखिएको हो।’ उक्त गाडी बिग्रिएकाले अनुगमनको गाडी चढेर बिहीबार कार्यालय आएको उनले दाबी गरे।

‘तपाईँलाई चढ्न महानगरले अर्को गाडी दिएको छ रे नि त ?’ भन्ने प्रश्नमा श्रेष्ठ वातावरण विभागमा पाँच/छ वटा गाडी भएको बताउँदै कहिले गाडीहरू फेरीफेरी चढ्ने गरेको सुनाए।

‘तर मैले बढिजसो निरन्तर चढ्ने गाडी त्यही हो। अर्को गाडी मलाइ भनेर दिएको छैन,’ उनले दाबी गरे।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार