२०८३ साउन १ , शुक्रबार

जुम्लामा शिक्षकमाथि हातपात



जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्।

यही असार ६ गते जुम्लाको पातारासी गाउँपालिका – ५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेका थिए।

उनले मादक पदार्थ सेवन गरी गाउँपालिकाअन्तर्गतको शिक्षा युवा तथा खेलकुद शाखाभित्र हातपात गरेका हुन्। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अभिराज उपाध्याय र विषयविज्ञ दुर्गा बुढा र भोजराज न्यौपानेलाई अभद्र व्यवहार गरी ज्यान मार्ने धम्की दिइएको प्रेस विज्ञप्तिमा भनिएको छ।

उक्त कोटामा दुईजनाको दरखास्त परेको थियो। पहिलो पेपर चेकजाँच भइसकेको र दोस्रो पेपरको परीक्षा हुँदै थियो, एक्कासि मदिरा सेवन गरेर यस्तो दुव्र्यवहार भएको बताउँछन् विषयज्ञ भोजरान न्यौपाने।

न्यौपाने भन्छन्, ‘हामीलाई विभिन्न आरोप लगाइएको छ। घुस खाएर आफ्नो मान्छे ल्याउने प्रपञ्च रचिएको छ भनेर अर्का विषयज्ञ दुर्गा बुढाप्रति अपशब्द बोलियो। अश्लील शब्द बोलेर महिलालाई होच्याइयो।’

नजिकै रहेको स्थानीय सरकार यस घटनाप्रति मूदर्शक बनेकोमा आफूलाई दुःख लागेको न्यौपानेले बताए। शिक्षा ऐन २०२८ बमोजिम सञ्चालन भइरहेको परीक्षा रोकी अराजक व्यवहार प्रदर्शन गर्ने अमृत बुढालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरिएको शिक्षा शाखा प्रमुख अभिराज उपाध्यायले बताए।

एक निष्ठवान् शिक्षकप्रति भएको आपत्तिजनक व्यवहारको भत्र्सना गर्दै दोषीमाथि कारबाही नगरेसम्म सम्पूर्ण विद्यालय बन्द हुने सरस्वती माविका शिक्षक भीमबहादुर बिकले बताए।

यो घटनाका दोषीमाथि कारबाहीप्रति गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले ऐक्यबद्धता जनाएका छन्। ४२ जना शिक्षकद्वारा सामूहिक हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूको सार्वजनिक सुरक्षा नभएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही नगरेसम्म विद्यालयमा नियमित उपस्थित हुन नसकिने, सम्भावित घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने र जिल्ला प्रशासन कार्यालय जुम्लामा हाजिर गरिने छ।’

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले आवश्यक अनुसन्धान गरी कानुनी दायरामा ल्याउने आश्वासन दिएका छन्।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार