तीनपाटन गाउँपालिकाले सुशासनका सूचकलाई पूरा गर्न थालेको छ। नागरिकका आवाज तथा गुनासो सुन्ने थलो नै सुशासनका सूचकहरू भएकाले त्यसलाई प्रभावकारी रूपमा कार्यक्रम गरिएको तीनपाटन गाउँपालिकाले जनाएको छ।
तीनपाटन गाउँपालिका सिन्धुलीले सामाजिक परीक्षण सार्वजनिक सुनुवाइलगायतका सुशासनका सूचक पूरा गर्न थालेको हो। नागरिकका आवाज सुन्ने र त्यसलाई ग्रहण गर्ने तथा सुधार गर्ने थलोका रूपमा सुशासनका सूचकलाई लिन थालेका छन्।
यहाँको तीनपाटन गाउँपालिकाले गाउँपालिकास्तरीय सामाजिक परीक्षण कार्यक्रम पहिलोपटक सञ्चालन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन निर्देशिकाले नै सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान राखे पनि जिल्लाका धेरै सरकारी कार्यालय तथा विद्यालयसहित गैरसरकारी कार्यालयहरूले सामाजिक परीक्षण गर्ने गरेका छैनन्।
यस वर्ष तीनपाटन गाउँपालिकाले सामाजिक परीक्षण कार्यक्रम राखी जनगुनासो सुन्ने र सुझाव संकलन कार्य गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पालिकाका दुई स्थानमा सामाजिक परीक्षण गरी स्थानीयको गुनासो सुनुवाइ गर्ने काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतलले जानकारी दिए।
सामाजिक परीक्षण सुशासन पारदर्शिता र जवाफदेहिताको महत्वपूर्ण सूचक हो, हामीले त्यो कार्यक्रम समयमै सकेका छौं’, उनले भने, ‘सामाजिक परीक्षण पालिकाभित्रका नागरिकको आवाज सुन्ने थलोका रूपमा लिन सकिन्छ।’
सामाजिक परीक्षणमा तीनपाटन गाउँपालिकाको बेरूजु बढेको विषयलाई स्थानीयले चासोका विषय बनाएका छन्। तीनपाटन गाउँपालिका २ का राजु सुवेदीले गाउँपालिकामा बेरूजु धेरै बढेकाले जथाभावी खर्च गर्न नहुने सुझाव राखे।
यस्तै सामाजिक परीक्षणमा स्थानीयले जनचासोका विषयलाई धेरै उठान गरेका थिए। गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले सामाजिक परीक्षण कार्यक्रममा उठेका सुझावले गाउँपालिकाको नीति कार्यक्रम बनाउन सहयोग पुग्ने बताए।
उनले गाउँपालिकाले बेरूजु शून्यमा झार्ने गरी काम गरेको बताए। ‘बेरूजु धेरै तलबमा गएको देखियो’, उनले भने, ‘जहाँ स्वास्थ्य चौकी छैन त्यस्ता स्थानमा जनतालाई सेवा दिन स्वास्थ्य चौकी राखेर सेवा दिएका हौं, त्यही स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खाएको तलब बेरूजुमा आएको छ, आगामी दिनमा त्यसलाई पनि सकेसम्म सुधार गर्दै लैजान्छौं।’
तीनपाटन गाउँपालिकामा मात्रै नभएर वडा तहमा पनि सामाजिक परीक्षण कार्यक्रम हुनुपर्ने स्थानीयको माग छ।








