२०८३ असार २७ , शनिबार

नयाँ संसद्मा विज्ञ र उच्चशिक्षित अनुहार



काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्मा विभिन्न क्षेत्रका विज्ञ, प्राज्ञिक तथा उच्चशिक्षित व्यक्तिहरूको उल्लेख्य उपस्थिति देखिएको छ । प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न क्षेत्रका विशेषज्ञ पृष्ठभूमि भएका उम्मेदवारहरू विजयी भएका छन् । यसपटकको संसद्मा विद्यावारिधि (पीएचडी) गरेका ९ जना सांसद निर्वाचित भएका छन्। तीमध्ये ८ जना राष्ट्रिय स्वतन्त्र पार्टी बाट र १ जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित भएका छन् ।

रास्वपाबाट पीएचडीधारी सांसदमा स्वर्णिम वाग्ले (तनहुँ–१), कृष्णहरि बुढाथोकी (रामेछाप), अमरेशकुमार सिंह (सर्लाही–४), विक्रम तिमिल्सिना (नुवाकोट–१), अच्युतम लामिछाने (नुवाकोट–२), धनञ्जय रेग्मी (स्याङ्जा–१), आनन्दबहादुर चन्द (कैलाली–५) र ताराप्रसाद जोशी (डडेलधुरा–१) निर्वाचित भएका छन्। एमालेबाट अर्जुनकुमार कार्की संखुवासभाबाट विजयी भएका छन् ।

नयाँ संसद्मा स्वास्थ्य, विज्ञान, इन्जिनियरिङ, अर्थशास्त्र, विकास, शिक्षा, कूटनीति तथा प्रविधि क्षेत्रका विज्ञहरूको पनि प्रतिनिधित्व देखिएको छ। न्युरोलोजीका चिकित्सक लेखजंग थापा, संरचनात्मक इन्जिनियर सुनील लम्साल, कम्प्युटर इन्जिनियर अरविन्द साह तथा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेल जस्ता व्यक्तिहरू विभिन्न क्षेत्रबाट राजनीतिमा सक्रिय भएका छन् ।

अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा सुशान्त वैदिक र शिशिर खनाल जस्ता व्यक्तिहरूको अनुभव पनि संसद्मा उपयोग हुने अपेक्षा गरिएको छ । त्यस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान पु¥याएका महावीर पुन जस्ता व्यक्तित्वको उपस्थितिले संसद्मा अनुसन्धान, नवप्रवर्तन र विकाससम्बन्धी बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूका अनुसार नयाँ संसद्मा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिताले नीति निर्माण, विकास योजना र शासन प्रणालीमा प्राविधिक तथा तथ्यमा आधारित बहस बढ्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार