२०८३ जेठ १२ , मंगलबार

यातायात सम्पर्क कार्यालय स्थापना गर्न माग



दाङ । घोराहीमा यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गर्दै ‘घोराही बनाऔँ अभियान’ले लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण, बिलबुक सम्बन्धी काम तथा राजस्व तिर्ने जस्ता सेवाका लागि सेवाग्राहीले अन्य ठाउँ धाउनुपर्ने अवस्था रहेको छ ।

यसले सर्वसाधारणलाई समय र खर्च दुवैको समस्या भएको भन्दै घोराहीमै यातायात कार्यालय स्थापना गर्न माग गरिएको हो । बिहीबार अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा गएको टोलीले मन्त्री न्यौपानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको थिए ।

अभियानले यसअघि पनि पूर्व यातायात मन्त्री रोज राना, जिल्ला समन्वय समिति दाङ तथा अन्य सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदै यस विषयमा ध्यानाकर्षण गराएको जनाएको छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री न्यौपानेले घोराहीमा यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । साथै जनसरोकारका विषयमा सक्रियता देखाएको भन्दै अभियानप्रति धन्यवाद पनि व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार